कपिलवस्तु, २१ बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिका–३, कर्मनामा सञ्चालनमा रहेको वृहस्पति एग्रो इन्डिस्टिज प्रा.लि. ले स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धनसँगै रोजगारी सिर्जना गर्दै उद्योगमैत्री वातावरणको आवश्यकतालाई उजागर गरेको छ।
२०७० सालमा स्थापना भएको यस उद्योगले ‘टाइचिन’ ब्राण्डमा चिउरा तथा ‘वृहस्पति जिरा मसिनो’ चामल उत्पादन गर्दै आएको छ। दैनिक उपभोग्य खाद्यान्न उत्पादनमा केन्द्रित यस उद्योगले हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। उद्योगमा उत्पादन हुने झुरुम–झुरुम चिउरा र गुणस्तरीय चामलले स्थानीय बजारमा आफ्नो पहिचान स्थापित गरेको छ।

उद्योगका सञ्चालक लक्ष्मण भुसालका अनुसार उद्योगमा करिब १२ करोड रुपैयाँ लगानी रहेको छ, जसमा स्थायी तथा चालु पूँजी समावेश छ। उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ—धान—मुख्यतः कपिलवस्तु जिल्लामै उत्पादन हुने भएकाले यसले स्थानीय कृषकलाई प्रत्यक्ष फाइदा पु¥याएको छ। यसले कृषि र उद्योगबीचको अन्तर सम्बन्धलाई मजबुत बनाउँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ।
यद्यपि, उद्योग सञ्चालनका क्रममा नीतिगत तथा संरचनागत चुनौतीहरू कायमै रहेको भुसालको गुनासो छ। विशेषगरी, सबै प्रकारका उद्योगलाई एउटै ब्याजदर लागू हुनु, उद्योगको प्रकृति अनुसार वर्गीकरण नहुनु, तथा कर प्रणालीमा लचकता नहुनु जस्ता समस्याले उद्योगीहरूलाई दबाबमा पारेको उनी बताउँछन्।
उनका अनुसार, “कृषि क्षेत्रमा करोडौँ लगानी भइरहेको छ, तर ब्याजदर र कर प्रणालीले त्यसअनुसारको सहुलियत दिन सकेको छैन। उद्योग अनुसार छुट्टै नीति र सहजीकरण आवश्यक छ।”

त्यसैगरी, राज्यबाट उद्योगीहरूका लागि व्यवस्थापन, सीप विकास तथा प्रशिक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन नहुनु पनि अर्को चुनौतीको रूपमा देखिएको छ। अनुभवी व्यवसायीलाई समेत नयाँ प्रविधि, बजार व्यवस्थापन र उत्पादन विस्तारका क्षेत्रमा सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।
खुला सीमाका कारण सस्तो आयातित खाद्यान्नले स्वदेशी उत्पादनलाई असर गरिरहेको विषय पनि उद्योगीहरूको चिन्ताको केन्द्रमा छ। भुसालका अनुसार, “यदि आन्तरिक उत्पादनलाई उचित संरक्षण र भण्डारणको व्यवस्था गरियो भने देशभित्रै खाद्यान्न पर्याप्त हुन सक्छ।”

वृहस्पति एग्रो इन्डिस्टिज जस्ता उद्योगहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्। यस्ता उद्योगहरूलाई प्रोत्साहन गर्न नीतिगत सहुलियत, सहजरूपमा कर्जा प्रवाह, कर छुट तथा प्रविधि हस्तान्तरण आवश्यक देखिन्छ।
कृषि–आधारित उद्योगलाई प्राथमिकतामा राखी स्पष्ट वर्गीकरण, न्यून ब्याजदर, र उत्पादनमैत्री कर प्रणाली लागू गर्न सकेमा यस्ता उद्योगहरूको दिगो विकास सम्भव हुनेछ। यसले न केवल स्थानीय अर्थतन्त्र सुदृढ पार्नेछ, बरु देशलाई आत्मनिर्भर कृषि अर्थतन्त्रतर्फ उन्मुख गराउनेछ।
स्थानीय स्रोत, श्रम र सीपको सदुपयोग गर्दै अघि बढेका उद्योगहरूलाई राज्यले संरक्षण र प्रोत्साहन गर्नु आजको आवश्यकता हो। उद्योगमैत्री नीति, सहजीकरण र दीर्घकालीन सोचले मात्र यस्ता प्रयासलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने संचालक लक्ष्मण भुसालको तर्क रहेको छ ।








प्रतिक्रिया