अर्थ-वाणिज्य

कपिलवस्तुमा अत्याधुनिक स्टिम चामल उद्योग

स्वदेशी उत्पादन, रोजगारी र दिगोपनाको आधार



कपिलवस्तु, २१ बैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिका–३, कर्मनामा स्थापना गरिएको महालक्ष्मी मल्टि एग्रो इन्डस्ट्रीज प्रा.लि.ले आधुनिक प्रविधिको प्रयोग मार्फत कृषि उत्पादनलाई उद्योगसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याएको छ। २०७९ सालमा स्थापना भएको उक्त उद्योगले अन्तर्राष्ट्रिय स्तरको बुहलर (बायलर) मेसिन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट स्टिम चामल उत्पादन गर्दै आएको छ। कम्पनीका सञ्चालक रामजी प्रसाद श्रेष्ठका अनुसार उद्योगले “५६ भोग”, “आगो”, “पोखरा गोल्ड”, “अटल”, “सन ब्रान्ड”, “फोर सिस्टर” र “बोटन” जस्ता ब्रान्डमार्फत बजारमा आफ्नो उत्पादन विस्तार गरेको छ। यसले स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै बजार प्रतिस्पर्धामा स्थापित गराउने प्रयास गरेको देखिन्छ।


तीन विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब एक अर्ब रुपैयाँ लगानी गरिएको छ, जसले यस क्षेत्रमै ठूलो औद्योगिक लगानीको उदाहरण प्रस्तुत गरेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ—धान—कपिलवस्तु जिल्लाबाटै संकलन गरिँदै आएको छ, जसले स्थानीय किसानलाई बजार सुनिश्चित गर्नुका साथै कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने संकेत गर्दछ।
हाल उद्योगमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीतर्फ जाने युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने सम्भावना देखाएको छ।
यद्यपि, उद्योग सञ्चालनमा चुनौतीहरू पनि रहेका छन्। विशेषगरी उच्च ब्याजदरका कारण उत्पादन लागत बढ्ने समस्या रहेको बताउँदै सञ्चालक हरिराम गुप्ताले सहुलियतपूर्ण बैंक ऋण उपलब्ध गराउन राज्यसँग माग गरेका छन्। उनका अनुसार सस्तो ब्याजदरले उद्योगलाई दीगो बनाउन र उत्पादन लागत घटाउन सहयोग पु¥याउनेछ।


महालक्ष्मी मल्टि एग्रो इन्डस्ट्रीज जस्ता उद्योगहरूले कृषि र उद्योग बीचको अन्तर सम्बन्धलाई मजबुत बनाउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट संकेत दिएका छन्। स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना र आधुनिक प्रविधिको प्रयोगले यस्तो उद्योगलाई दीगो विकासको आधारका रूपमा स्थापित गर्न सक्छ।
तर, यस्ता उद्योगहरूको दीर्घकालीन स्थायित्वका लागि राज्यको सहजीकरण अपरिहार्य देखिन्छ। विशेषगरी सहुलियतपूर्ण कर्जा, कर छुट तथा पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउन सकेमा कृषि–आधारित उद्योगहरूले देशको आर्थिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याउन सक्छन्।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६