धनकुटा, २२ वैशाखः
वैशाख १८ देखि धनकुटाको राजारानीमा जारी ‘१३औँ रारा रनिङ फुटबल प्रतियोगिता’ को उपाधि गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । ‘पेनाल्टी सुटआउट’मा आयोजकलाई ५–४ गोलको अन्तरले हराउँदै यूनाइटेड झापा विजयी भएको हो । जितसँगै युनाइटेडले रनिङ कपसहित नगद सात लाख पाएको छ भने उपविजेता आयोजक राराले तीन लाखमा चित्त बुझाएको छ । खेलको दोस्रो हाफमा आयोजक राजारानी(रारा)ले पेनाल्टीबाट एक गोल गरेपछि त्यसको केही समयमा नै युनाइटेडका तर्फबाट ‘फ्री किक’बाट एक गोल भएपछि खेल बराबरीमा टुङ्गिएको थियो । त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका तर्फबाट ३२ नम्बरका खेलाडी दीपेश उराउ, ५ नम्बरका खेलाडी सञ्जय लामा, १४ नम्बरका खेलाडी मौसम सुब्बा, ६६ नम्बरका खेलाडी विवेक पौडेल र २० नम्बरका खेलाडी प्रशान्त लक्षमले गोल गर्न सफल भए । आयोजक राजारानी फुटबल क्लबका लागि १६ नम्बर जर्सीका किरण चेम्जोङ, जर्सी नम्बर १३ का विशाल भण्डारी, जर्सी नम्बर १२ का मणि लामा र जर्सी नम्बर २ का शिशिर लेखीले गोल गरे । सोही टिमका ११ नम्बर खेलाडी दीपेश गुरुङले हानेको गोल युनाइटेडका गोलकिपर गोलरक्षकले रोकेपछि युनाइटेड विजय भएको हो । विजेता तथा खेलाडीहरूलाई रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पुरस्कार वितरण गरे । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम भए । उदियमान खेलाडीको उपाधि रारा फुटबल क्लबका लोकेन्द्र लिम्बू र उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बराल भए । सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले पाए । उनले प्रतियोगिता अवधिभरमा चार गोल गरेका थिए । उत्कृष्ट खेलाडीको उपाधि रारा फुटबल क्लबका कप्तान किरण चेम्जोङले पाए ।








प्रतिक्रिया