कृषि

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा



झापा, २३ कात्तिक

‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका-११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लगेपछि मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गर्नुभएकी उहाँको समूहसँग कुनै बेला ९०० सम्म मौरीका घार थिए । वार्षिक १० हजार किलो शुद्ध मह उत्पादन गर्दै उहाँले बर्सेनि रु ३० लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । मौरीपालनका कारण राष्ट्रपति पुरस्कार पनि पाउनुभएकी दाहालले रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि यो व्यावसायलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुभयो । “विभिन्न रोगको सङ्क्रमणले ठूलो क्षति भयो,” उहाँले भन्नुभयो, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण सम्बन्धित निकायले बनाउनु जरुरी छ ।” मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् । कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताउनुभयो । कनकाई मौरीपालन उद्योगका सञ्चालक उहाँले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाउनुभयो । चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उहाँको भनाइ छ । उहाँले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेका शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो । मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण रहेको उहाँको भनाइ छ । वार्षिक दुई हजार किलीससम्म मह उत्पादन गर्दै आउनुभएका शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताउनुभयो । किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्‍याउन सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ । —

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६