कपिलवस्तु, कृष्णनगर २४ बैशाख
कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न व्यक्तिगत घटना दर्ता सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नगरपालिकामा जन्म दर्ता सबैभन्दा बढी भएको देखिएको छ भने विवाह, मृत्यु तथा बसाइँ सराइका घटनाहरू पनि उल्लेख्य संख्यामा दर्ता भएका छन् ।
नगरपालिकाको तथ्यांकअनुसार एक वर्षको अवधिमा कुल १ हजार ७ सय ७८ जन्म दर्ता भएका छन् । तीमध्ये ९ सय २ पुरुष र ८ सय ७६ महिला रहेका छन् । जन्म दर्ताको संख्या उच्च रहनुले नागरिकमा व्यक्तिगत घटना दर्ताप्रति चेतना र पहुँच बढ्दै गएको संकेत गरेको छ ।
त्यस्तै, सोही अवधिमा ४ सय ८५ मृत्यु दर्ता भएका छन् । मृत्यु दर्तामध्ये २ सय ६० पुरुष र २ सय २५ महिला रहेका छन् ।
नगरपालिकामा वैवाहिक घटना पनि उल्लेख्य रहेको देखिएको छ । तथ्यांक अनुसार आर्थिक वर्षभरिमा ५ सय २८ विवाह दर्ता भएका छन् भने ५ सम्बन्ध विच्छेद दर्ता भएका छन् । यसले पारिवारिक तथा सामाजिक संरचनामा कानुनी प्रक्रिया प्रति नागरिकको आकर्षण बढ्दै गएको देखाउँछ ।
बसाइँ सराइतर्फ हेर्दा कृष्णनगर नगरपालिकामा १५ बसाइँसरि आएका परिवारका ६८ जना सदस्य दर्ता भएका छन् । यस्तै, ३२ बसाइँसरि जाने परिवारका १ सय २० सदस्य दर्ता भएका छन् । यसले नगरपालिकाबाट बाहिरिने जनसंख्या आउनेभन्दा बढी रहेको संकेत गर्दछ ।
नगरपालिकाको समग्र व्यक्तिगत घटना दर्ताको संख्या २ हजार ७ सय ८८ पुगेको छ ।
व्यक्तिगत घटना दर्ता राज्यको अभिलेख व्यवस्थापन, सामाजिक सुरक्षा, नागरिकता, शिक्षा, स्वास्थ्य तथा योजना निर्माणसँग प्रत्यक्ष जोडिएको विषय हो । कृष्णनगर नगरपालिकामा जन्म र विवाह दर्ताको उच्च दरले सेवा प्रणालीमा नागरिकको पहुँच र कानुनी सचेतना वृद्धि भएको देखिन्छ ।
यद्यपि बसाइँसराइतर्फ बाहिरिने संख्या बढी हुनु रोजगार, शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरका कारण हुन सक्ने देखिन्छ । स्थानीय तहले रोजगारी सिर्जना, पूर्वाधार विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकेमा बसाइँसराइको दर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
व्यक्तिगत घटना दर्ता हरेक नागरिकको अधिकार र कर्तव्य दुवै हो । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू समयमै दर्ता गर्दा नागरिकले सरकारी सेवा, सामाजिक सुरक्षा र कानुनी पहिचान सहज रूपमा प्राप्त गर्न सक्छन् । त्यसैले सबै नागरिकलाई घटना भएको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ ।








प्रतिक्रिया