कपिलवस्तु, २५ वैशाख
नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत कपिलवस्तुको विजयनगर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. ३ पथरदेइयामा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास सम्पन्न भएको छ।
करिब २ करोड ११ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनको शिलान्यास नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाल–भारत विकास सहकार्य अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विस्तार हुनु सकारात्मक र दीर्घकालीन उपलब्धि भएको बताएका छन्। भवन निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकले सहज, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो योजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।
विजयनगर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, सेवा विस्तार तथा नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि निरन्तर पहल गर्दै आएको जनाएको छ। गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार नयाँ भवन निर्माणले स्वास्थ्य संस्थाको सेवा क्षमता बढ्नुका साथै सुरक्षित र व्यवस्थित उपचार वातावरण निर्माण हुनेछ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाले योजना सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीयबासीप्रति गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद व्यक्त गर्नु भएको छ।
स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विकासले नागरिकको जीवनस्तर सुधारसँगै राज्यप्रतिको विश्वास पनि बलियो बनाउने भएकाले यस्ता विकास साझेदारी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनतर्फ लैजान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।








प्रतिक्रिया