कृषि

बाणगंगामा पशुपालनको विस्तार

बाख्रा, भैँसी र हाँसपालनमा उल्लेख्य वृद्धि



कपिलवस्तु, २६ बैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा पशुपालन व्यवसाय क्रमशः विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ । नगरकार्यपालिकाको कार्यालय बाणगंगाद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको पशुपन्छी सम्बन्धी विवरण अनुसार अधिकांश पशुपन्छीको संख्या बढ्दो क्रममा रहेको पाइएको हो ।
तथ्यांक अनुसार नगरभित्र सबैभन्दा बढी संख्यामा कुखुरा पालन हुँदै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा ९८ हजार २ सय ४० रहेको कुखुराको संख्या २०८०/०८१ मा बढेर १ लाख २ हजार ३ सय ३३ पुगेको थियो । यद्यपि आर्थिक वर्ष २०८१/०८२ मा केही घटेर ९९ हजार ४ सय ७८ मा सीमित भएको देखिन्छ ।
त्यस्तै, बाख्रा, खसी तथा बोका पालनमा उल्लेख्य वृद्धि देखिएको छ । तीन वर्षको अवधिमा बाख्रा जन्य पशुको संख्या ३१ हजार ५ सय ८० बाट बढेर ३४ हजार २ सय ९० पुगेको छ । यो ४ दशमलव ०२ प्रतिशतको वृद्धि हो । ग्रामीण क्षेत्रका किसानले कम लागत, छिटो आम्दानी र बजारको सहज उपलब्धताका कारण बाख्रापालन तर्फ आकर्षण बढाएको अनुमान गरिएको छ ।
भैँसी तथा राँगो पालन पनि निरन्तर बढ्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १० हजार १ सय ४२ रहेको संख्या चालु वर्षमा १० हजार ९ सय ६७ पुगेको छ । यसले दुग्ध उत्पादन तथा व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको संकेत गर्दछ ।
हाँस पालनमा समेत सकारात्मक वृद्धि देखिएको छ । तीन वर्षमा हाँसको संख्या ९ हजार ५ सय २१ बाट बढेर १० हजार १ सय ८२ पुगेको छ । यो ३ दशमलव ३९ प्रतिशत वृद्धि हो । पछिल्लो समय वैकल्पिक व्यवसायका रूपमा हाँसपालनप्रति चासो बढ्दै गएको देखिन्छ ।
यता, गाई–गोरुको संख्या सामान्य वृद्धि भए पनि भेडा तथा बंगुरपालनमा भने स्थायित्व सहित केही उतार चढाव देखिएको छ । भेडाभेडीको संख्या २०८०/०८१ मा २ सय पुगे पनि आ.व. २०८१।०८२ मा घटेर १ सय ८९ मा झरेको छ । त्यसैगरी बंगुर तथा सुँगुरको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ ।
कृषि क्षेत्रका रूपमा परिचित बाणगंगामा पशुपालन किसानको आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको स्थानीय कृषक बताउँछन् । नगरपालिकाले पशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, प्राविधिक परामर्श तथा व्यवसायिक तालिमलाई प्रभावकारी बनाउँदै लगेका कारण किसानको पशुपालनतर्फ आकर्षण बढेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो । पशुपालनको दिगो विकासका लागि आधुनिक गोठ व्यवस्थापन, पशु बीमा, उन्नत जातको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा थप बजेट आवश्यक रहेको कृषि शाखा प्रमुख लेश बहादुर केसीको भनाई रहेको छ । उचित योजना र लगानीलाई थप गदै बाणगंगा नगरपालिकालाई पशुपालन उत्पादनमा आत्मनिर्भर बनाउने नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ। ।

प्रकाशित : २६ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६