कपिलवस्तु, २६ वैशाख
कपिलवस्तुको यशोधरा गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सडक तथा सिंचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै ग्रामीण बस्तीको जीवनशैली परिवर्तन गर्ने खालका काम अघि बढाएको तथ्यांकले देखाएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार एक वर्षको अवधिमा कालोपत्रे, खण्डस्मित, पीसीसी, आरसीसी ढलान तथा ग्राभेल सडक निर्माणमा उल्लेखनीय वृद्धि भएको छ । यसले गाउँ–टोल सम्म सहज पहुँच विस्तार हुनुका साथै स्थानीय नागरिकको दैनिकी, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म गाउँपालिका भित्र ४.७८ किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा थप ०.७६४ किलोमिटर सडक कालोपत्रे भएपछि कुल कालोपत्रे सडक ५.५४७ किलोमिटर पुगेको छ ।
त्यसैगरी खण्डस्मित, पीसीसी तथा आरसीसी ढलान सडक तर्फ गाउँपालिकाले अझ तीव्र प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ सम्म १०.६३ किलोमिटर रहेको यस्तो सडक सञ्जालमा आ.व. २०८१/०८२ मा मात्रै ४.२२८ किलो मिटर थपिएपछि कुल लम्बाइ १४.८५८ किलोमिटर पुगेको छ ।
ग्राभेल सडक निर्माणमा पनि गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । गत वर्ष सम्म १३.७६ किलोमिटर रहेको ग्राभेल सडकमा आर्थिक वर्ष २०८१/०८२ मा ११.४ किलोमिटर थप निर्माण गरिएको छ । यससँगै गाउँपालिका भित्र कुल ग्राभेल सडक २५.१६ किलोमिटर पुगेको छ ।
पूर्वाधार विकासको यो गतिले ग्रामीण क्षेत्रका नागरिकमा उत्साह थपेको छ । वर्षौंदेखि हिलो, धुलो बाटोको समस्या झेल्दै आएका स्थानीय बासिन्दाले अहिले सहज आवत जावतको अनुभूति गर्न थालेका छन् । सडक विस्तारसँगै कृषि उत्पादन बजार सम्म पु¥याउन, विद्यार्थीलाई विद्यालय पुग्न तथा बिरामीलाई स्वास्थ्य संस्था लैजान समेत सहज भएको स्थानीयको अनुभव छ ।
यद्धपी गाउँपालिका भित्र हालसम्म स्थानीय सडक पुल, झोलुङ्गे पुल तथा सिंचाइ कुलो निर्माण हुन नसकेको तथ्यांकले देखाएको छ । तर सिंचाइ सुविधा पुगेको जमिनको क्षेत्रफल भने बढेको छ । अघिल्लो आर्थिक वर्षसम्म १ हजार ९१० हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेकोमा आव २०८१/०८२ मा थप ६० हेक्टर विस्तार भई कुल १ हजार ९७० हेक्टर जमिनमा सिंचाइ पहुँच पुगेको गाउँपालिकाले जनाएको छ ।
विशेषगरी कृषि प्रधान क्षेत्रका रूपमा रहेको यशोधरामा सिंचाइ पहुँच विस्तार हुनु किसानका लागि राहतको विषय बनेको छ । खेतीयोग्य जमिनमा पानीको पहुँच बढ्दै जाँदा उत्पादन वृद्धि, बहुखेती प्रणाली र किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले सीमित स्रोत–साधनका बीच सडक र आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै ग्रामीण विकासको आधार बलियो बनाउने प्रयास गरेको देखिन्छ । विकासका यी सूचकहरूले यशोधरा गाउँपालिका अब क्रमशः पहुँच, पूर्वाधार र उत्पादनशीलताको नयाँ चरणतर्फ अघि बढिरहेको संकेत गरेको छ ।
््








प्रतिक्रिया