कपिलवस्तु, २७ बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आ.व. २०८१/०८२ मा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै ८ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ। सार्वजनिक गरिएको वार्षिक प्रगति विवरण अनुसार नगरपालिकाले सामाजिक सुरक्षा, पहुँच र सेवामा समावेशितालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा परिचयपत्र वितरण कार्यलाई अघि बढाएको देखिन्छ।
तथ्यांक अनुसार वितरण गरिएका परिचयपत्र मध्ये ‘ख’ वर्गका लाभग्राही सबैभन्दा बढी रहेका छन्। कुल ८ सय ८६ जनामध्ये ५ सय ४ जनाले ‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेका छन्। त्यसैगरी १ सय ४० जनाले ‘क’, १ सय ८८ जनाले ‘ग’ तथा ५४ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन्।
वडा अनुसार हेर्दा वडा नम्बर ८ मा सबैभन्दा बढी १ सय ५७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। उक्त वडामा २७ जना ‘क’, ८० जना ‘ख’, ४१ जना ‘ग’ र ९ जना ‘घ’ वर्गका लाभग्राही रहेका छन्। त्यसपछि वडा नम्बर ११ मा ९२ जना र वडा नम्बर १ मा ८३ जनाले परिचयपत्र प्राप्त गरेका छन्।
त्यसैगरी वडा नम्बर ७ मा सबैभन्दा कम ५६ जनालाई परिचयपत्र वितरण गरिएको तथ्यांकमा उल्लेख छ। वडा नम्बर १० मा ५७ जना, वडा नम्बर ६ मा ६४ जना तथा वडा नम्बर ५ मा ६९ जना लाभग्राही रहेका छन्।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको सेवा, सुविधा तथा सामाजिक सुरक्षामा सहज पहुँच दिलाउन परिचयपत्र वितरणलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। परिचयपत्र प्राप्त गरेपछि स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता, शिक्षा, यातायात तथा अन्य सरकारी सेवामा सहुलियत प्राप्त हुने भएकाले यसको महत्व अझ बढेको बताउनु हुन्छ प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।
बाणगंगा नगरपालिका सुशासन, सामाजिक उत्तरदायित्व र समावेशी विकासको अभ्यासमा अग्रणी स्थानीय तहका रूपमा परिचित छ। अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, संरक्षण र अधिकार सुनिश्चित गर्न नगरपालिकाले तथ्यांक व्यवस्थापन, सेवा पहुँच विस्तार तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ।
स्थानीय सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल सहानुभूतिको दृष्टिले नभई अधिकार प्राप्त नागरिकका रूपमा सम्मान गर्दै उनीहरूको क्षमता विकास, रोजगारी र सामाजिक सहभागिता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको अभियान्ता मित्रलाल शर्माको तर्क रहेको छ ।








प्रतिक्रिया