कपिलवस्तु २९ बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नगरको शैक्षिक क्षेत्रलाई उत्साहित बनाएको छ। नगरका ५ वटा विद्यालयबाट ९ जना विद्यार्थीले उत्कृष्ट ४ जीपीए हासिल गर्दै बाणगंगाको शैक्षिक गुणस्तरमा नयाँ आशा थपेका छन्।
नगर शिक्षा शाखा प्रमुख रोशन घिमिरेका अनुसार कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बाट ३ जना, महेन्द्र माध्यमिक विद्यालय बाट ३ जना, हथौसा लिटिल स्टार इङ्लिश बोर्डिङ स्कूल बाट १ जना, बाणगंगा माध्यमिक विद्यालय बाट १ जना तथा लक्ष्मणघाट माध्यमिक विद्यालय बाट १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन्।
यसपटकको नतिजाले बाणगंगामा सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक प्रतिस्पर्धा सकारात्मक दिशातर्फ अघि बढिरहेको संकेत गरेको छ। विशेषगरी महेन्द्र मावि कोपवा, बाणगंगा मावि लौगाई र लक्ष्मणघाट मावि यी सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा आउनु सामुदायिक शिक्षाको गुणस्तर सुधार हुँदै गएको प्रमाणका रूपमा हेरिएको छ।
शिक्षा क्षेत्रमा निरन्तर लगानी, विद्यालय व्यवस्थापनको सक्रियता, शिक्षकको मेहनत र अभिभावकको चासोका कारण बाणगंगामा पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धि क्रमश उकासिँदै गएको देखिन्छ। नगरपालिकाले विद्यालय स्तरमा अतिरिक्त कक्षा, नियमित मूल्यांकन, प्रविधिमैत्री शिक्षण र विद्यार्थी केन्द्रित सिकाइलाई प्राथमिकता दिँदै आएको छ।
४ जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या केवल व्यक्तिगत सफलता मात्र नभई समग्र नगरको शैक्षिक वातावरण सुधारिएको संकेत पनि हो। ग्रामीण क्षेत्रका विद्यालयबाट समेत उत्कृष्ट नतिजा आउनुले अवसर पाए विद्यार्थीले जुनसुकै परिवेशबाट पनि उत्कृष्टता हासिल गर्न सक्ने सन्देश दिएको शैक्षिक अगुवाहरुको भनाई रहेको छ।

शिक्षा शाखाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई बधाई दिँदै आगामी वर्षहरूमा अझ बढी विद्यार्थीलाई उच्च उपलब्धितर्फ प्रेरित गर्ने योजना रहेको जनाएको छ।








प्रतिक्रिया