लक्ष्मण प्रसाद बेल्बासे
बाणगंगा, २९ बैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूको एसईई नतिजाले पछिल्ला दुई शैक्षिक सत्रमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको संकेत गरेको छ । शैक्षिक सत्र २०८१ र २०८२ को नतिजा विश्लेषण गर्दा संस्थागत विद्यालयहरूले उत्कृष्ट नतिजालाई निरन्तरता दिएका छन् भने सामुदायिक विद्यालयहरू पनि क्रमशः प्रतिस्पर्धात्मक अवस्थामा उभिन थालेका देखिन्छन् ।
शैक्षिक सत्र २०८२ मा नगरपालिकाभित्रका विद्यालयबाट कुल १ हजार ८ सय ९ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । तीमध्ये ९ जना विद्यार्थीले ४.०० जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गरेका छन् । यस्तै १ सय ८३ जनाले ३.६ वा सोभन्दा माथि, ३ सय ९४ जनाले ३.२ भन्दा माथि, ४ सय ४७ जनाले २.८ भन्दा माथि तथा १ सय ७४ जनाले २.४ भन्दा माथिको जीपीए प्राप्त गरेका छन् ।
यद्यपि १४ जना विद्यार्थी २.० भन्दा कम जीपीएमा सीमित भएका छन् भने ५ सय ८८ विद्यार्थी ननग्रेडमा परेका छन् । यस आधारमा नगरपालिकाको समग्र उत्तीर्ण प्रतिशत ६७ दशमलव ६० पुगेको देखिन्छ ।
यसअघिको शैक्षिक सत्र २०८१ मा भने कुल १ हजार ७ सय ३५ विद्यार्थी सहभागी मध्ये ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त वर्ष १६ जनाले ४.०० जीपीए ल्याएका थिए भने ४ सय ५७ जनाले ३.६ वा सोभन्दा माथिको जीपीए प्राप्त गरेका थिए । त्यस्तै ४ सय ८३ जनाले ३.२ भन्दा माथि, ३ सय ५२ जनाले २.८ भन्दा माथि तथा १ सय ६६ जनाले २.४ भन्दा माथिको जीपीए ल्याएका थिए ।
त्यस वर्ष १० जना विद्यार्थी २.० भन्दा कम जीपीएमा सीमित भएका थिए भने २ सय ३८ विद्यार्थी ननग्रेडमा परेका थिए । समग्रमा हेर्दा २०८१ को तुलनामा २०८२ मा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या घटेको तथा ननग्रेड संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।
तथ्यांकले बाणगंगाको शैक्षिक अवस्थाबारे दुई फरक संकेत दिएको छ । एकातर्फ संस्थागत विद्यालयहरूले गुणस्तरीय नतिजालाई निरन्तर कायम राख्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गरेका छन् भने अर्कोतर्फ सामुदायिक विद्यालयहरूले विगतको तुलनामा सुधारको संकेत देखाए पनि अझै सिकाइ उपलब्धि र नतिजामा चुनौती कायम रहेको देखिन्छ ।
विशेषगरी ननग्रेड विद्यार्थीको संख्या २३८ बाट बढेर ५८८ पुग्नु शिक्षा क्षेत्रका लागि गम्भीर चिन्ताको विषय बनेको छ । यसले विद्यार्थीको आधारभूत सिकाइ क्षमता, नियमित अध्ययन संस्कार, अभिभावकीय निगरानी तथा विद्यालयस्तरीय शैक्षिक व्यवस्थापनमा थप सुधार आवश्यक रहेको संकेत गर्दछ ।
यद्यपि सामुदायिक विद्यालयहरूमा पछिल्ला वर्षहरूमा देखिएको प्रतिस्पर्धात्मक चेतना, शिक्षकको सक्रियता तथा स्थानीय तहको लगानीले सकारात्मक प्रभाव पार्न थालेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । संस्थागत विद्यालयसँगको स्वस्थ प्रतिस्पर्धाले सामुदायिक विद्यालयलाई पनि सुधारको दिशातर्फ उन्मुख गराएको देखिन्छ ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार अब केवल उत्तीर्ण प्रतिशतलाई मात्र सफलता मान्ने प्रवृत्तिभन्दा माथि उठेर विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि, विषयगत दक्षता र व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
एसईई नतिजाले बाणगंगा नगरपालिकामा शैक्षिक पहुँच विस्तारसँगै गुणस्तर सुधारको प्रयास जारी रहेको देखाए पनि सामुदायिक र संस्थागत विद्यालयबीचको गुणस्तरीय दूरी घटाउन अझ प्रभावकारी शैक्षिक योजना, शिक्षक क्षमता अभिवृद्धि, नियमित अनुगमन र विद्यार्थी केन्द्रित सिकाइ वातावरण निर्माण अपरिहार्य बनेको छ ।









प्रतिक्रिया