खोज–अनुसन्धान

सामाजिक सुरक्षामा बाणगंगाको ठूलो लगानी

आफ्नै राजश्व भन्दा दोब्बर बढी रकम नागरिकको हातमा



कपिलवस्तु, ३१ बैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक सुरक्षा कार्यक्रम मार्फत करिब ३९ करोड रुपैयाँ नागरिकमा वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ । नगरपालिकाको वार्षिक समीक्षा विवरण अनुसार सामाजिक सुरक्षा भत्ताबाट १४ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
तथ्यांकले देखाउँछ—स्थानीय तहको आफ्नै कुल आन्तरिक राजश्व भन्दा सामाजिक सुरक्षा क्षेत्रमा गरिएको खर्च दोब्बर भन्दा बढी छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न कर, सेवा शुल्क, दस्तुर तथा नदीजन्य पदार्थबाट जम्मा १६ करोड १० लाख २३ हजार ८ सय १२ रुपैयाँ ९८ पैसा राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख मदन घिमिरेले बताउनु भयो । तर संघीय सरकारबाट प्राप्त सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मात्रै ३८ करोड ९६ लाख रुपैयाँ भन्दा बढी रकम नागरिकलाई वितरण गरिएको छ ।
यसले स्थानीय तह केवल कर उठाउने निकाय मात्र नभई राज्यको सामाजिक संरक्षण प्रणाली कार्यान्वयन गर्ने महत्वपूर्ण माध्यम बनेको स्पष्ट संकेत गरेको छ ।
नगरपालिकाले पहिलो त्रैमासिकमा ९ करोड ५० लाख ४२ हजार रुपैयाँ, दोस्रो त्रैमासिकमा ९ करोड ६८ लाख ७७ हजार रुपैयाँ, तेस्रो त्रैमासिकमा ९ करोड ८१ लाख ७५ हजार रुपैयाँ तथा चौँथो त्रैमासिकमा ९ करोड ८७ लाख १८ हजार रुपैयाँ वितरण गरेको छ ।
त्रैमासिक रूपमा खर्च बढ्दै जानुले लाभग्राहीको संख्या स्थिर मात्र नभई विस्तार हुँदै गएको संकेत गर्छ । सामाजिक सुरक्षा कार्यक्रम स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको कारण यसको प्रभाव पनि व्यापक देखिन्छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै रकम “अन्य ज्येष्ठ नागरिक भत्ता” शीर्षकमा खर्च भएको छ । चौँथो त्रैमासिक सम्म ५ हजार २ सय ६९ जना ज्येष्ठ नागरिकलाई ६ करोड २८ लाख ५८ हजार रुपैयाँभन्दा बढी वितरण गरिएको छ ।
यो तथ्यले बाणगंगा नगरपालिका भित्र वृद्ध नागरिकको संख्या उल्लेखनीय रहेको देखाउँछ । साथै वृद्धावस्थामा राज्यबाट प्राप्त नियमित सहायता धेरै परिवारका लागि आर्थिक सहाराको आधार बनेको पनि प्रष्ट हुन्छ ।
विधवा, अपांगता भएका व्यक्ति र बालबालिकासम्म सामाजिक सुरक्षाको पहुँच
सामाजिक सुरक्षा कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा संरक्षण आवश्यक समूहलाई प्रत्यक्ष राहत दिएको देखिन्छ । चौँथो त्रैमासिकमा मात्रै १ हजार ७ सय ३ जना विधवा महिलाले १ करोड ३५ लाख रुपैयाँभन्दा बढी भत्ता प्राप्त गरेका छन् ।
त्यस्तै पूर्ण अपांगता भएका १ सय ४९ जना तथा अति अशक्त अपांगता भएका ५ सय १३ जनाले नियमित भत्ता पाइरहेका छन् । यसले सामाजिक सुरक्षाको पहुँच अपांगता भएका नागरिकसम्म प्रभावकारी रूपमा पुगेको देखिन्छ ।
बालबालिकातर्फ पनि कार्यक्रमको दायरा व्यापक छ । क्षेत्र तोकिएका ५ हजार ८ सय ३६ जना बालबालिका तथा ३ सय ८७ जना दलित बालबालिकाले भत्ता प्राप्त गरेका छन् । यसले सामाजिक सुरक्षालाई वृद्धवृद्धामा सीमित नराखी बालअधिकार र सामाजिक समावेशीतासँग समेत जोडिएको देखाउँछ ।
नगरपालिकाले सम्पत्ति कर, भूमिकर÷मालपोत, घरजग्गा बहाल कर, नक्सा पास दस्तुर, व्यवसाय कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, प्रशासनिक सेवा शुल्कलगायत शीर्षकबाट ७ करोड ९६ लाख ६४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
त्यस्तै नदीजन्य पदार्थ—ढुंगा, गिट्टी, बालुवा तथा दहत्तर–बहत्तरबाट मात्रै ८ करोड १३ लाख ६९ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ ।
यसरी हेर्दा बाणगंगा नगरपालिकाको आन्तरिक आयको मुख्य आधार प्राकृतिक स्रोत तथा स्थानीय कर प्रणाली देखिन्छ । तर संकलित राजश्वभन्दा धेरै ठूलो रकम सामाजिक सुरक्षामार्फत नागरिककै हातमा पुग्नु स्थानीय सरकारको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष बनेको छ ।
सामाजिक सुरक्षा आर्थिक सहायता मात्र होइन, सामाजिक भरोसा पनि
विश्लेषकहरूका अनुसार सामाजिक सुरक्षा कार्यक्रम केवल भत्ता वितरणको विषय होइन, यो राज्य र नागरिकबीचको भरोसासँग जोडिएको व्यवस्था हो । नियमित भत्ताले वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति तथा विपन्न परिवारको दैनिक जीवनयापनमा प्रत्यक्ष सहयोग पुगिरहेको छ ।
विशेषगरी ग्रामीण तथा अर्धशहरी क्षेत्रका धेरै परिवारमा सामाजिक सुरक्षा भत्ता घरखर्च, औषधोपचार, बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताको महत्वपूर्ण स्रोत बनेको देखिन्छ ।
बाणगंगा नगरपालिकाले नियमित, व्यवस्थित तथा लक्षित वर्गसम्म पुग्ने गरी सामाजिक सुरक्षा वितरणलाई निरन्तरता दिनु स्थानीय सरकारप्रतिको नागरिक विश्वास बलियो बनाउने पक्षका रूपमा समेत हेरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकले एउटा स्पष्ट सन्देश दिएको छ—स्थानीय तहले उठाएको राजश्वभन्दा धेरै ठूलो सामाजिक लगानी नागरिकमै फर्किरहेको छ, जसले सामाजिक संरक्षण र समावेशी विकासको आधारलाई थप मजबुत बनाइरहेको ।

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६