बाणगंगा, कपिलवस्तु ३१ बैशाख
एसईईको नतिजासँगै शैक्षिक उपलब्धिलाई केवल अंकमा सीमित नराखी प्रेरणा र सम्मानसँग जोड्ने प्रयास स्वरूप बाणगंगा माध्यमिक विद्यालय, लौगाईले सफल विद्यार्थीहरूलाई सम्मान गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। विद्यालयले एसईई परीक्षामा फोर जिपिए ल्याउने राजन भुसाल सहित उत्कृष्ट नतिजा हासिल गर्ने, उत्तीर्ण भएका बाणगंगाका ‘सफल नक्षत्र’हरूलाई सम्मान गर्दै आयोजना गरेको कार्यक्रमले शिक्षा क्षेत्रमा उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक ऊर्जा थपेको छ।

विद्यालयलेले नतिजा र कार्यक्रम सफल बनाउन अहोरात्र खटिने शिक्षक तथा कर्मचारीप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। विद्यालयले सफलता कुनै एक दिनको उपलब्धि नभई निरन्तर मेहनत, अनुशासन, अभिभावकीय साथ र शिक्षकहरूको समर्पणको संयुक्त परिणाम भएको उल्लेख गरेको छ।
पछिल्ला वर्षहरूमा बाणगंगा क्षेत्रका विद्यालयहरूले केवल परीक्षाफल प्रकाशनमा सीमित नभई सफल विद्यार्थीलाई सार्वजनिक सम्मान गर्ने अभ्यासलाई प्राथमिकता दिन थालेका छन्। यसले उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई थप प्रेरित गर्ने मात्र होइन, अन्य विद्यार्थीमा पनि सकारात्मक प्रतिस्पर्धाको भावना विकास गरिरहेको देखिन्छ।
विशेषगरी एसईई जस्तो जीवनको महत्वपूर्ण मोड मानिने परीक्षामा सफलता हासिल गर्ने विद्यार्थीलाई समाज र विद्यालयबाट गरिने सम्मानले “परिश्रमको मूल्यांकन हुन्छ” भन्ने विश्वासलाई बलियो बनाउँछ। यसले शैक्षिक वातावरणलाई अझ उर्जाशील र उपलब्धिमुखी बनाउन सहयोग पु¥याउने शिक्षा क्षेत्रका जानकारहरुको बुझाइ छ।
बाणगंगामा पछिल्लो समय सामुदायिक विद्यालयहरूको नतिजामा देखिएको सुधार र शैक्षिक गतिविधिमा बढ्दो सक्रियताले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत गरेको नगर प्रमुख चक्रपाणी अर्यालको धारणा रहेको छ । सफल विद्यार्थीको सम्मान मात्र होइन, उनीहरूलाई आगामी यात्राका लागि प्रेरणा दिने संस्कृतिले आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको अर्यालको भनाई रहेको छ।
“सफलताको उत्सव केवल सम्मान होइन, आगामी सफलताको बीउ पनि हो” भन्ने सन्देश यस कार्यक्रमले दिएको शिक्षा शाखा प्रमुख रोशन घिमिरेको विचार रहेको छ ।
कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेल, क्याम्पस अध्यक्ष कासीराम बेल्वासे, कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासे लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्नुका साथै सम्मानित भएका सफल विद्यार्थीहरूलाई बधाई दिँदै यो उपलब्धिलाई अझ उचाइमा पु¥याउन प्रेरणा प्रदान गर्ने विद्यालयका प्राचार्य कुलराज पौडेलले बताउनु भयो ।








प्रतिक्रिया