काठमाडौँ, १ जेठ
शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । आजदेखि यहाँ सुरु भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा नेपाल, भारत, बङ्गलादेशलगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो । सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायका पूर्वडीन प्रा डा डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताउनुभयो । भारतको बनारस हिन्दू विश्वविद्यालयको व्यवस्थापन सङ्कायका प्रमुख प्रा डा हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनुभयो । मधेस विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरूले चिर्न सक्नुपर्ने बताउनुभयो । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेले अर्थशास्त्रीहरू कुनै पनि मुलुकको सहयोगी शक्ति रहेको बताउनुभयो । आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा घनश्यामप्रसाद साहले दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताउनुभयो । नेपाल कमर्श एशोसिएशनका अध्यक्ष डा दीपेन्द्रकुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरूले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरू विश्वस्तरी भएको उल्लेख गर्नुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू तथा व्यापार, वाणिज्य, प्रविधि र कानुनका विद्यार्थीहरू सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया