ब्रेकिंग न्युज

एसियाली राजमार्ग ः ‘आर्क’ प्रविधिका पुल निर्माण



झापा, ६ जेठ ः एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ ।आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उहाँले बताउनुभयो ।सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ । राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ ।झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको कुल ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा वर्गीकरण गरिएको छ । यसमध्ये झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्ये यी तीनवटा सबैभन्दा ठूला हुन् ।रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ । तीनवटै पुल निर्माणमा आधुनिक र सुन्दर देखिने ‘स्टिल आर्क’ प्रविधिको प्रयोग हुने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।तीनवटा पुलको निर्माणसम्बन्धी ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले रु पाँच अर्बमा लिएको छ । पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ भने बाँकी सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले सम्हालिरहेको उहाँले जानकारी दिनुभयो ।रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कङ्क्रिटको हुने जनाइएको छ । यस पुलमा तीनवटा स्पान रहने भएको छ । लोहन्द्रा नदीको ३८५ मिटर लम्बाइको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् । बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ ।मोरङको उर्लाबारीस्थित सडकको दक्षिण किनारमा स्टिलका पाटपुर्जा फ्याब्रिकेसन (जडान)कार्य भइरहेको र त्यहाँ तयार गरिएका सामग्रीलाई पुलको मुख्य संरचनामा ल्याएर जडान गर्ने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।वर्षायाममा पनि पुलको निर्माणकार्य प्रभावित नहुनेगरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ । हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ । रतुवामा तीनवटा स्पानको काम सकिएर अर्को ‘आर्क’ थप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रतुवाको काम सकिएलगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कामलाई तीव्रता दिइने उहाँको भनाइ छ ।रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्कको कार्य विस्तार भइरहेको छ । स्टिलतर्फको धेरैजसो काम भइसकेको र अब कङ्क्रिटको काममात्र बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको दाबी छ ।प्राविधिक कारणले गर्दा पुलको निर्माण सम्पन्न गर्न सम्झौता अवधिभन्दा थप पाँच महिना जति बढी समय लाग्न सक्ने आयोजनाको अनुमान छ । “कामलाई निर्धारित समयमै सक्न आयोजना कार्यालय र निर्माण कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली साइटमै निरन्तर खटिइरहनुभएको छ”, प्रजापतिले भन्नुभयो, “अथक प्रयास गर्दागर्दै पनि प्राविधिक कारणले पाँच महिना थप अवधि लाग्न सक्छ ।”

प्रकाशित : ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६