देश

केराका बोट, आम्दानीको स्रोत



धनुषा, २३ कात्तिक

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो । पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुगेका थालेका थिए । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले केराको बोट जनकपुरधाम बजारमा बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार प्रतिथाम रु २५० देखि रु ३०० सम्म बिक्री भएको छ । यसबाट किसानलाई राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थामको बिक्री भएको किसान बताउँछन् । जनकपुरधाममा शनिबार र आइतबारमात्रै करिब आठदेखि नौ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । केराको झ्याङमा बोट धेरै गाँजिएपछि उत्पादन राम्रो लिन केही बोट हटाउनुपर्ने हुन्छ । सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुने गरेको छ । बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व पर्खने गरेको बताउनुभयो । उहाँका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्ने भए पनि दीपावलीमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । उहाँले यस वर्ष एकै दिनमा रु १५ हजारभन्दा बढी मूल्यका केराका थाम बिक्री गरेको जानकारी दिनुभयो । मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ । स्वागतद्वारका मूल खाँबाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो । सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थामका लागि एक साताअघिदेखि नै किसानले बैना लिन थालेका थिए । पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष रु ३५ हजार बराबरका केराका थाम बिक्री गरेको बताउनुभयो । करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका उहाँका अनुसार राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन । त्यसैले अतिरिक्त बोट छाँट्नुपर्ने हुन्छ । दीपावलीका बेला त्यस्ता बोट बिक्री हुने भएकाले किसानले यस पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन् । धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको थियो । व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा अन्य उपभोक्ता थाम खरिद गर्न गाउँबस्ती पुग्न थालेपछि किसानलाई घरमै बिक्री गर्ने सुविधा मिलेको छ । महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थामको बिक्रीले सहयोग पुगेको बताउनुभयो । बजारसम्म थाम पुर्याउनुपर्ने झन्झट नभई व्यापारी घरमै आएर खरिद गर्दा पर्व मनाउन सहज भएको उहाँको भनाइ छ । किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम रु ६०० सम्ममा बिक्री हुने गरेको छ । बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट ‘नयाँ कोथा’ बिक्री गरी रु १५ हजार आम्दानी गरेको बताउनुभयो । दीपावलीसँगै छठपर्वमा केराको घरी र कोथाको माग बढ्ने गरेको छ । छठ पर्वमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यसको बिक्री बढ्ने किसान बताउँछन् । नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेको छ । यसरी धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा योगदान हुँदै आएको छ । –––

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६