लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु, बाणगंगा ६ जेठ
वन संरक्षण, दिगो व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पु¥याउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन व्यवस्थापनलाई थप प्रभावकारी र समुदायमुखी बनाउँदै अघि बढेको जनाएको छ। समूहको वार्षिक प्रतिवेदनले वन संरक्षणसँगै उत्पादन, जैविक विविधता, पर्यापर्यटन र उपभोक्तामैत्री व्यवस्थापनलाई प्राथमिकतामा राखिएको देखाएको छ।
समूहका अध्यक्ष ई.दिनेश प्रसाद जयसवालका अनुसार मायादेवी साझेदारी वनको कुल क्षेत्रफल १८१९.९३ हेक्टर रहेको छ। यसमध्ये १६४४.०४ हेक्टर क्षेत्र उत्पादनशील वनको रूपमा रहेको छ भने करिब २५८.०७ हेक्टर क्षेत्र अतिक्रमणको चपेटामा परेको उल्लेख गरिएको छ। विशेषगरी पटना क्षेत्रको ठूलो भूभाग अतिक्रमित हुँदा वन संरक्षणमा चुनौती थपिएको देखिन्छ।

वनको व्यवस्थापनलाई व्यवस्थित र वैज्ञानिक बनाउन पिपरा र पटना गरी दुई खण्डमा विभाजन गरिएको छ। जसमा पटना ब्लकको क्षेत्रफल १२३२.५४ हेक्टर रहेको छ भने वन व्यवस्थापनका लागि कम्पार्टमेन्ट र सब–कम्पार्टमेन्ट प्रणाली अवलम्बन गरिएको छ। वनको दीर्घकालीन उत्पादन क्षमता कायम राख्न ८० वर्षको बाली चक्र तथा १० वर्षको पुनरुत्पादन अवधिसहित इरेगुलर सेल्टरउड प्रणाली अपनाइएको बताइएकोछ।
वन क्षेत्रमा प्राकृतिक साल तथा मिश्रित वनको बाहुल्यता रहेको छ। औसत वन उमेर करिब ८० वर्ष रहेको र साल, असना, सिसौ लगायतका प्रजाति प्रमुख रहेको बनले जनाएको छ । यसले वन क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको संकेत गर्दछ। वनको माटो चिम्टाइलो र बलौटे दोमट प्रकृतिको भएकाले उत्पादन क्षमता पनि राम्रो मानिएको छ।
वन संरक्षणलाई केवल रुख जोगाउने विषयको रूपमा मात्र नहेरी व्यवस्थापनको व्यापक दृष्टिकोण अपनाइएको देखिन्छ। विभिन्न प्रकारका थिनिङ, सुधार कटान, पुनरुत्पादन अभिवृद्धि, ढलापडा रुख व्यवस्थापन, अग्नि नियन्त्रणका लागि अग्नीरेखा निर्माण, खोल्सा–खहरे संरक्षण, पानीका मुहान र पोखरी संरक्षण जस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। वनको प्रतिवेदनमा वन क्षेत्रलाई आर्थिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणले समेत उपयोगी बनाउने लक्ष्य राखेको देखिन्छ। वन व्यवस्थापनसँगै पर्यापर्यटनका गतिविधि सञ्चालन गरी वनलाई व्यवसायिकरण गर्ने अवधारणाले स्थानीय आयआर्जनका नयाँ सम्भावना सिर्जना गर्न सक्ने देखिन्छ। यसका लागि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग सहकार्य आवश्यक रहेको अध्यक्ष जयसवालले उल्लेख गरेका छन्।
यद्यपि, वन क्षेत्रको ठूलो हिस्सा अतिक्रमणमा रहनु समूहका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ। वन संरक्षणमा उपभोक्ता, स्थानीय समुदाय र सम्बन्धित निकायबीच अझ सशक्त समन्वयको आवश्यकता औँल्याइएको छ।
वन संरक्षण केवल सरकारी दायित्व नभई समुदायको साझा जिम्मेवारी भएको सन्देश दिँदै मायादेवी साझेदारी वनले संरक्षण, उपयोग र विकासबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेको देखिन्छ। आगामी दिनमा अतिक्रमण नियन्त्रण, पर्यावरणीय संरक्षण र समुदायको सक्रिय सहभागितासँगै यो वन क्षेत्र साझेदारी वन व्यवस्थापनको नमुना बन्न सक्ने अपेक्षा गरिएको अध्यक्ष दिनेश जयसवालको भनाइ रहेको छ।









प्रतिक्रिया