८ जेठ, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा एमालेले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गरेको छ ।
नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार, १ जेठ २०८३ मा एमालेले तीन पूर्व पदाधिकारीहरूको उपचारखर्च बापत राज्यकोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो ।
पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको झण्डै चार करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा गएर ‘डिपोजिट’ भएको हो ।
प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट बेहोरिएको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो ।
‘गैरकानूनी रुपमा उपचारखर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न हाम्रा प्रमुख लगायतका पदाधिकारीहरू माथि निकै ठूलो दबाब थियो,’ अख्तियारका एक उच्चपदस्थ कर्मचारीहरूले भने, ‘अप्ठेरो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्यकोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ ।’
एमालेले पूर्वराष्ट्रपति डा. यादवको नाममा ६५ लाख २५ हजार, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दुई करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ र झलनाथ खनालको नाममा खर्च भएको ८१ लाख ३९ हजार १५५ रुपैंया भुक्तान भएको थियो।
ती मध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बतायो । एकमुष्ट रुपमा सबै रकम ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ हुन्छ । एमाले सम्बद्ध स्रोतका अनुसार, पार्टीले नै खर्च बेहोर्ने भनी गोप्य निर्णय भएपछि कति तहको कारोबारबाट राष्ट्रबैंकमा भुक्तानी भएको भन्ने खुलेको छैन ।









प्रतिक्रिया