कास्की, १० जेठः पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्वसूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो “महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिने छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले समेत भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएका थिए ।
१० जेष्ठ २०८३, आइतबार









प्रतिक्रिया