कपिलवस्तु, ११ जेठ
बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेका विकास योजनाको कार्यप्रगति विवरणले अधिकांश योजना लक्ष्य नजिक वा पूर्णतर्फ उन्मुख रहेको देखाएको छ। नगरपालिकाको तथ्यांक अनुसार सम्पन्न भएका २३१ योजना मध्ये ठूलो हिस्सा उच्च प्रगति हासिल गर्ने योजनाको रहेको छ, जसले विकास निर्माणमा कार्यान्वयन क्षमता सुदृढ हुँदै गएको तथ्यहरुले पुष्टी गरेको छ ।
नगरपालिकाको उपलब्ध तथ्यांक अनुसार २३१ योजना मध्ये २०३ योजना ९० देखि १०० प्रतिशत सम्म सम्पन्न भएका छन्। यो कुल योजनाको करिब ८७.९ प्रतिशत हो। यसले अधिकांश योजनाले निर्धारित लक्ष्य लगभग पूरा गरेको वा पूर्णता प्राप्त गरेको देखाउँछ। विकास योजनाको कार्यान्वयनमा यस्तो अवस्था स्थानीय तहको व्यवस्थापकीय दक्षता, नियमित अनुगमन तथा जिम्मेवार कार्यशैलीको परिणामका रूपमा लिन सकिन्छ।
त्यस्तै, ७५ देखि ९० प्रतिशत प्रगति हासिल गरेका २४ योजना रहेका छन्। यी योजना कुल योजनाको करिब १०.४ प्रतिशत हुन आउँछन्। यस्ता योजना अन्तिम चरणमा पुगेका देखिन्छन् र आवश्यक समन्वय तथा स्रोत व्यवस्थापन मार्फत पूर्णता दिन सकिने अवस्था रहेको देखिन्छ।
तथ्यांक अनुसार ५० देखि ७५ प्रतिशत सम्म काम सम्पन्न भएका योजना ३ वटा मात्र रहेका छन् भने ५० प्रतिशत भन्दा कम प्रगति भएका योजना १ मात्र रहेको छ। न्यून प्रगति भएका योजनाको संख्या अत्यन्त कम हुनु सकारात्मक पक्ष मानिएको छ। यद्यपि यस्ता योजनामा देखिएका समस्या, ढिलाइका कारण तथा कार्यान्वयन चुनौतीको समीक्षा गर्नु आवश्यक देखिन्छ।
तथ्यांकले समग्रमा बुद्धभूमि नगरपालिकामा योजनाको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको देखाएको छ। विशेषगरी अधिकांश योजना उच्च प्रगतिमा रहनुले विकास खर्च कार्यान्वयन, योजना व्यवस्थापन र स्थानीय तहको कार्य क्षमतामा सुधार आएको पुष्टी गरेको नगर प्रमुख केशव श्रेष्ठको भनाई रहेको छ ।
गत आवको विकास योजनाको सफलता केवल बजेट खर्चसँग मात्र सम्बन्धित नभई नागरिकको जीवनस्तरमा पार्ने प्रभाव अझ महत्वपूर्ण हुन्छ। आगामी दिनमा बाँकी रहेका योजनालाई समयमै सम्पन्न गर्दै गुणस्तर, पारदर्शिता र दिगोपनमा थप ध्यान दिन सके विकासको उपलब्धि अझ प्रभावकारी बन्ने अपेक्षा सरोकारवालाको रहेको छ ।









प्रतिक्रिया