खोज–अनुसन्धान

फासियानको यात्रा विवरण पुस्तक नेपालीमा अनुवाद



लुम्बिनी, ११ जेठ

बौद्ध संस्कृति तथा पुरातत्वका लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ ‘फुगोची’ नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले एक हजार ६०० वर्षअघि बौद्ध राज्यको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण ग्रन्थ दुर्लभ मानिन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यको अभिलेख नामक पुस्तक आज लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । तीर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिनुभयो । उहाँले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेको जानकारी दिनुभयो । पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताउनुभयो । बौद्ध राज्यको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्तालाई सहज हुने उहाँले बताउनुभयो । उहाँले फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्धस्थलको विषयमा चर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको बताउनुभयो । सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्द मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताउनुभयो । त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु युले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकको पारस्परिक अनुवाद तथा प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विश्वविद्यालयले निरन्तर रूपमा यस्ता महत्वपूर्ण ग्रन्थको अनुवाद गर्दै जाने बताउनुभयो । लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचिन ग्रन्थ अनुवाद गर्ने काम जारी राखेको उहाँले जानकारी गराउनुभयो । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा रु ४० लाखको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजनाअनुसार अनुसन्धानकार्यमा खर्च गरिनेछ ।

प्रकाशित : ११ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६