कपिलवस्तु, विजयनगर १२ जेठ
विकास केवल सडक, भवन र भौतिक संरचनाले मात्रै मापन हुँदैन, समाजको स्वास्थ्य, बाल अधिकार, वातावरणीय व्यवस्थापन र नागरिक जीवनको गुणस्तरले पनि विकासको वास्तविक चित्र देखाउँछ। यही सामाजिक विकासका सूचकहरूमा केन्द्रित भएर विजयनगर गाउँपालिकाले गत आर्थिक वर्षमा सामाजिक रूपान्तरणका विभिन्न आधारहरू निर्माण गरेको पालिकाका तथ्यहरुले पुष्टी गरेको देखिन्छ।
गाउँपालिकाको सामाजिक सूचक सम्बन्धी तथ्यांकले विजयनगरले स्थानीय शासनलाई थप नागरिकमैत्री, बालमैत्री र वातावरणीय जिम्मेवार बनाउने दिशामा उल्लेखनीय तयारी अगाडि बढाएको संकेत गरेको छ। यद्धपि केही क्षेत्रमा अझै चुनौती कायमै छन्।
सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा गाउँपालिकाले २०८४ साल वैशाख भित्र बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्ने लक्ष्य सहित आवश्यक तयारीलाई तीव्र बनाएको छ। बालमैत्री स्थानीय शासन केवल औपचारिक घोषणा मात्र होइन, बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षा र बाल सहभागिताको संस्थागत अभ्याससँग जोडिएको विषय हो। यसतर्फ गाउँपालिकाको सक्रियता भविष्यका पुस्तालाई केन्द्रमा राखेर नीति निर्माण भइरहेको पुष्टी हो।
त्यसैगरी, विजयनगर पूर्ण खोपयुक्त र पूर्ण साक्षर गाउँपालिका घोषणा भइसकेको अवस्था रहेको छ। स्वास्थ्य र शिक्षामा हासिल भएको यो उपलब्धिलाई सामाजिक विकासको आधार स्तम्भ मानिन्छ। घोषणा पछि पनि निरन्तरता र गुणस्तर कायम राख्न गाउँपालिकाले थप कार्यहरू गरिरहेको देखिन्छ। घोषणा मात्र नभई त्यसलाई व्यवहारमा स्थायी बनाउनुपर्ने चुनौती अब प्रमुख देखिन्छ।
फोहोरमैला व्यवस्थापनतर्फ गाउँपालिकाले संस्थागत प्रयास थालेको तथ्यले अर्को सकारात्मक संकेत दिएको छ। सबै स्वास्थ्य संस्थामा तीन रङ्गको मापदण्डअनुसार डस्टबिन व्यवस्थापन गरिएको छ भने बर्थिङ सेन्टरहरूमा प्लासेन्टा पिट निर्माण गरिएको छ। यसले स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापनमा ध्यान दिइएको देखिन्छ। साथै फोहोरमैला व्यवस्थापन रणनीति तथा कार्ययोजना–२०८१ निर्माण गरिनुले व्यवस्थापनलाई नीतिगत आधारमा अगाडि बढाउने प्रयास स्पष्ट देखिन्छ।
वातावरणीय क्षेत्रमा पनि गाउँपालिकाले केही आधारभूत काम अघि बढाएको छ। वातावरण व्यवस्थापन नीति, रणनीति तथा कार्ययोजना निर्माण भए पनि अझै वातावरणमैत्री स्थानीय शासन पूर्ण रूपमा लागू हुन सकेको छैन। नीति निर्माण र कार्यान्वयन बीचको दूरी स्थानीय तहका धेरै निकायमा देखिने साझा चुनौती हो। विजयनगरमा पनि नीति बनेको तर व्यवहारिक कार्यान्वयन अझै पूर्ण हुन नसकेको अवस्था देखिएको छ।
त्यस्तै, छाडा पशु व्यवस्थापन गाउँपालिकाका लागि अर्को चुनौतीपूर्ण विषय बनेको छ। यस समस्याको समाधानका लागि छिमेकी स्थानीय तहसँग सहकार्यको प्रयास भइरहेको उल्लेख छ। कृषिमा आधारित क्षेत्र भएकाले छाडा चौपायाको व्यवस्थापन किसानसँग प्रत्यक्ष जोडिने विषय हो। समन्वयात्मक प्रयास सफल भए स्थानीय स्तरमा देखिने ठूलो समस्या समाधान हुन सक्ने अपेक्षा गरिएको पालिका उपाध्यक्ष लक्ष्मी चौधरीको भनाइ रहेको छ।
समग्रमा हेर्दा विजयनगर गाउँपालिकाले सामाजिक विकासका सूचकहरूमा सकारात्मक आधार निर्माण गरेको देखिन्छ। बालमैत्री शासनको तयारी, पूर्ण खोप र साक्षरता, फोहोर व्यवस्थापनका रणनीति तथा वातावरणीय योजना जस्ता पहलले सामाजिक रूपान्तरणको संकेत गरेका छन्। तर नीति निर्माणबाट परिणाममा पुग्न अझ प्रभावकारी कार्यान्वयन, अन्तरपालिका सहकार्य र नागरिक सहभागिता आवश्यक देखिन्छ।
पालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगरले विकासको नयाँ परिभाषा खोजिरहेको छ—जहाँ विकासको मापन केवल संरचनाले होइन, नागरिकको जीवनस्तर र सामाजिक उत्तरदायित्वले हुने बुझाइ रहेको स्पष्ट धारणा राख्नु भयो ।









प्रतिक्रिया