ललितपुर, १४ जेठ
बुद्ध जन्म भूमिसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक नगरहरूलाई एकीकृत विकासको अवधारणा सहित अघि बढाउने उद्देश्यले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (जीएलएडी) सम्बन्धी सहायक सम्झौता सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित विशेष समारोहबीच पूर्वाधार विकास मन्त्रालय र कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका, देवदह नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिका बीच परियोजना कार्यान्वयन सम्बन्धी सहायक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेल सहभागी हुनु भएको थियो । विभागका महानिर्देशक रवीन्द्र बोहराले परियोजनाले बुद्ध परिपथ क्षेत्रको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
विगत केही वर्षदेखि बुद्ध परिपथ क्षेत्रका नगरपालिकाहरूबीच हुँदै आएको सहकार्य, समन्वय र आपसी समझदारीलाई यो सम्झौताले थप संस्थागत र प्रभावकारी बनाएको सरोकारवालाहरूले बताएका छन् । परियोजना मार्फत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, आधुनिक पूर्वाधार निर्माण, सडक तथा शहरी सेवा विस्तार, वातावरणीय संरक्षण र स्थानीय आर्थिक गतिविधि सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बुद्धसँग जोडिएका ऐतिहासिक स्थलहरूलाई एकीकृत विकासको दायरामा ल्याउने प्रयास स्वरूप यस परियोजनालाई क्षेत्रीय समृद्धिको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ । स्थानीय तहहरूबीचको सहकार्यले विकासलाई दिगो, समावेशी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ ।
सम्झौतापछि बुद्ध परिपथ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप परिचित गराउँदै स्थानीय रोजगारी, व्यापार तथा लगानी प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताउनु भयो ।









प्रतिक्रिया