ब्रेकिंग न्युज

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य



खजुरा (बाँके), १७ जेठ

पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् । नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरु बताउँछन् । अत्यधिक गर्मीको मौसममा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ । अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन् । गर्मीका कारण विद्यार्थी पटकपटक पानी खान जाने, टाउको दुख्ने, थकान हुनेजस्ता समस्या देखिने गरेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताउनुभयो । डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ । विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्थामात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरूको भनाइ छ । टिनका छानामा एउटा कक्षाकोठाको आवाज अर्को कोठासम्म सुनिन्छ । वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरूको भनाइ छ । तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ । तर नेपालगन्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई दीर्घकालीन बनाउन नीति बनाउने काम अझै हुनसकेको छैन ।” जनप्रतिनिधिहरू सुविधासम्पन्न भवन र बाताअनुकूलित वातावरणमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य भएको अभिभावकहरूको भनाइ छ ।

प्रकाशित : १७ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६