कर्णाली, १७ जेठः राज्यको विभिन्न तहमा पुगेका र सफलता हासिल गरेका कर्णालीका विभिन्न क्षेत्रमा सफल महिलाहरूले शिक्षा, निरन्तर मिहिनेत र आत्मविश्वासबाट जीवनका कठिन चुनौतीलाई अवसरमा बदल्न सकिने बताएका छन् । ज्योति फाउन्डेसनद्वारा सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि जारी ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण कार्यक्रममा ‘ज्ञानको उज्यालोमा छोरी’ शीर्षकमाथिको छलफलमा उनीहरूले यस्तो बताएका हुन् । छलफलमा लोकसेवा आयोग कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष वसन्तीकुमारी सिंह शाही, नेपाल सरकार सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव रोशनीकुमारी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । पत्रकार नेत्र केसीले सहजीकरण गर्नुभएको उक्त छलफलमा उहाँहरूले आफ्ना सङ्घर्ष र सफलताका अनुभव सुनाउँदै कर्णालीका छोरीहरूलाई शिक्षा तथा आत्मनिर्भरताको बाटो रोज्न उत्प्रेरित गर्नुभयो । आयोगका कार्यवाहक अध्यक्ष शाहीले बझाङमा जन्मिएर हुम्लाको खार्पुनाथ गाउँपालिकामा विवाह गरेपछि पनि यो अवस्थामा आउँदै गर्दा गर्नुपरेका दुःख र सङ्घर्षको कथा सुनाउनुभयो । कर्णाली त्यसमा यहाँका महिला तथा छोरीहरूले गर्ने सङ्घर्षको कथाभित्र थुप्रै व्यथा लुकेको उहाँको भनाइ थियो ।विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिँदै पाँच–छ महिनाको बच्चा काखमा राखेर एसएलसी उत्तीर्ण गरेको सुनाउँदै कार्यवाहक अध्यक्ष शाहीले दृढ इच्छाशक्तिका अगाडि जस्तासुकै बाधा पन्छिएर जान तथा त्यसका लागि हार कहिल्यै मान्न नहुने तर्क गर्नुभयो । घरपरिवारको जिम्मेवारीसँगै उच्च शिक्षा हासिल गर्दै दुई विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएकी उहाँले फेरि अर्को विषयमा स्नातकोत्तर अध्ययनरत रहेको बताउनुभयो ।त्यसैगरी, नेपाल सरकारका सचिव बस्नेतले व्यक्तिको इच्छाशक्ति, सोच र परिवारबाट प्राप्त समान अवसरले सफलता हात पर्ने बताउनुभयो । शिक्षाप्रतिको सकारात्मक सोचले आफूलाई सफलताको मार्गमा अघि बढाएको बताउँदै उहाँले सुर्खेतबाट स्नातक तह पूरा गरेपछि काठमाडौँमा एमबीए अध्ययन गरी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव सुनाउनुभयो ।आफ्नै ठाउँमा योगदान गर्ने उद्देश्यले जागिर छोडेर सुर्खेत फर्किएको र त्यसपछि लोकसेवा आयोगको तयारी गरी २०६३ सालमा अधिकृत तथा २०६७ सालमा पहिलो प्रयासमै सहसचिवमा नाम निकाल्न सफल भएको सचिव बस्नेतको भनाइ थियो । आत्मविश्वास र साहस राखेर संयमता अपनाउँदै अगाडि बढ्न छोरीहरूलाई उहाँले सुझाउनुभयो ।त्यस्तै, दैलेखकी पहिलो महिला शाखा अधिकृत श्रेष्ठले निरन्तर मिहेनत र लगनशीलताले निजामती सेवामा सफलता हासिल गर्न सकिने बताउनुभयो । पहिलो प्रयासमा असफल भए पनि हार नमान्दै पुनः तयारी गरेर २०६२ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भएको अनुभव सुनाउँदै उहाँले जीवनमा हार नखान सन्देश दिनुभयो । शिक्षा र चेतनाको स्तर बढ्दै गए पनि आर्थिक अवस्था र सुरक्षाका चुनौती अझै विद्यमान रहेकाले यसमा राज्यले विशेष ध्यान दिनुपर्ने अधिकृत श्रेष्ठको भनाइ थियो ।
१८ जेष्ठ २०८३, सोमबार









प्रतिक्रिया