खोज–अनुसन्धान

विपद् व्यवस्थापनमा विजयनगरको सक्रियता

पूर्व तयारी देखि राहत वितरण सम्म प्रभावकारी अभ्यास



कपिलवस्तु, २२ जेठ

कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित तथा भारतसँग सीमा जोडिएको विजयनगर गाउँपालिका पछिल्ला वर्षहरूमा विपद् व्यवस्थापनलाई योजनाबद्ध, संस्थागत र परिणाममुखी ढंगले अगाडि बढाउने स्थानीय तहका रूपमा देखिएको छ। आदिवासी थारु, मधेशी तथा पहाडिया समुदायको मिश्रित बसोबास रहेको यस गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा पुनःस्थापनाका क्षेत्रमा कानुनी तथा नीतिगत आधार निर्माणसँगै व्यवहारिक कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको पालिकाले जनाएको छ।
गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कानुन, कार्यविधि र योजनाहरू निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। यसअन्तर्गत विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, विपद् संवेदनशील सामाजिक सुरक्षा योजना २०७९, स्थानीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ तथा विपद् जोखिम न्यूनीकरण स्थानीय रणनीतिक कार्ययोजना २०२२–३० जस्ता महत्वपूर्ण नीतिगत दस्तावेज तयार गरी लागू गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
यी योजनाले विपद् आउनु अघि जोखिम पहिचान, तयारी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन सहयोग पु¥याएका छन्। विशेषगरी जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहमा दीर्घकालीन रणनीति निर्माण गरिएको छ ।
विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएर गाउँपालिकाले आकस्मिक राहत तथा पुनःस्थापनाका कार्यलाई छिटो र प्रभावकारी बनाउन सकेको छ। गत अवधिमा शीतलहरबाट प्रभावित नागरिकहरूलाई करिब १ लाख ९४ हजार रुपैयाँ बराबरको काठ तथा दाउरा वितरण गरिएको थियो। यसले चिसो मौसमबाट जोखिममा परेका विपन्न तथा कमजोर वर्गका नागरिकलाई राहत पुगेको थियो ।
त्यसैगरी आगलागीबाट प्रभावित २८ घरधुरीलाई करिब १ लाख ३६ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा १६ लाख ६४ हजार रुपैयाँ बराबरका जस्तापाता र पाइप वितरण गरिएको गाउँपालिकाको तथ्यांकले देखाउँछ। यस प्रकारको सहयोगले विपद्पछि प्रभावित परिवारलाई तत्काल राहत मात्र नभई पुनःस्थापनामा समेत महत्वपूर्ण सहयोग पुगेको छ।
स्थानीय तहमा विपद् व्यवस्थापनका कार्यक्रमहरू प्रायः राहत वितरणमा सीमित हुने गरेको अवस्थामा विजयनगर गाउँपालिकाले भने पूर्वतयारी, जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई समेत जोड्दै समग्र विपद् व्यवस्थापनको अवधारणालाई व्यवहारमा उतारेको देखिन्छ। विपद् व्यवस्थापनलाई केवल संकटपछिको प्रतिक्रिया नभई जोखिम न्यूनीकरण र तयारीको विषयका रूपमा स्थापित गर्न खोजिएको गाउँपालिकाको अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने बताउनुहुन्छ गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी ।
सीमावर्ती भूगोल, जलवायु जन्य जोखिम तथा सामाजिक विविधता बीच पनि योजनाबद्ध तयारी, संस्थागत संरचना र लक्षित राहत कार्यक्रम मार्फत विजयनगर गाउँपालिकाले स्थानीय सरकारको प्रभावकारी भूमिका प्रस्तुत गरेको छ। विपद्को चुनौती बढ्दै गएको वर्तमान अवस्थामा यस्ता प्रयासले स्थानीय समुदायको उत्थानशीलता वृद्धि गर्नुका साथै सुरक्षित र दिगो विकासको आधार समेत निर्माण गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

प्रकाशित : २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६