देश

विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता



अदानचुली (हुम्ला), २४ जेठ

ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।” उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताउनुभयो । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उहाँले भन्नुभयो । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताउनुभयो । यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताउनुभयो । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयो । उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउनुहुन्छ । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उहाँको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिनुभएको खड्काले बताउनुभयो । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताउनुभयो ।

प्रकाशित : २४ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६