कपिलवस्तु, २४ जेठ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई केन्द्रमा राख्दै सञ्चालन गरेका विभिन्न कार्यक्रमले नगरभित्र सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण तथा समावेशी विकासलाई नयाँ उचाइ दिएको छ। सामाजिक विकास शाखा मार्फत सञ्चालन भएका कार्यक्रमहरूले सीमान्तकृत, विपन्न, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको नगरद्धारा प्रस्तुत तथ्यहरुले पुष्टी गरेको छ ।
नगरपालिकाले बाल अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै बाल श्रम मुक्त नगर घोषणा गरेको छ। यस अभियानले बालबालिकालाई श्रमबाट मुक्त गराई विद्यालय शिक्षामा जोड्ने वातावरण निर्माण गरेको देखिन्छ। यससँगै बाल विवाह सचेतना तथा नियमन कार्यक्रम सञ्चालन गरी बालविवाह जस्ता सामाजिक विकृति विरुद्ध समुदाय स्तरमै जनचेतना अभिवृद्धि गरिएको छ। यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न सहयोग पुगेको छ।
महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ। वडा नं. १ मा महिलाहरूलाई पञ्चेबाजा एडभान्स तालिम प्रदान गरिएको छ भने राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत २५ जना महिलालाई प्रतिव्यक्ति २६ हजार रुपैयाँका दरले जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरी साना व्यवसाय सुरु गर्न सहयोग गरिएको छ। यसले महिलाहरूलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्नुका साथै पारिवारिक आयआर्जनमा समेत योगदान पु¥याएको छ।
त्यसैगरी, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि होटल सञ्चालन तथा व्यवस्थापन तालिम, हेयर कटिङ तालिम लगायतका सीप विकास कार्यक्रम सञ्चालन गरिएका छन्। यी तालिमबाट लाभान्वित युवाहरूले व्यवसाय सञ्चालन तथा रोजगारीका अवसर सिर्जना गर्न सक्ने आधार प्राप्त गरेका छन्। स्थानीय स्तरमै सीपयुक्त जनशक्ति उत्पादन हुनु नगरको आर्थिक विकासका लागि पनि सकारात्मक संकेत हो।
नगरपालिकाले नेतृत्व विकास र सामाजिक सहभागितालाई समेत प्राथमिकता दिएको छ। ४० जनाको सहभागितामा उद्घोषण तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरी युवाहरू तथा महिलाहरूको सार्वजनिक बोल्ने क्षमता, नेतृत्व विकास र सामाजिक सहभागिता अभिवृद्धि गरिएको छ। यस्ता कार्यक्रमले स्थानीय शासन र सामाजिक गतिविधिमा नागरिकको सक्रियता बढाउने अपेक्षा गरिएको छ।
समावेशी विकासको अवधारणालाई व्यवहारमा उतार्दै नगरपालिकाले १० जना बहिरा अपाङ्गता भएका व्यक्तिका लागि सांकेतिक भाषा तालिम सञ्चालन गरेको छ। यसले उनीहरूको सञ्चार क्षमता वृद्धि हुनुका साथै समाजमा सहज सहभागिता र आत्मविश्वास बढाउन मद्दत पुगेको छ। साथै, अपाङ्ग लक्षित अगरबत्ती बनाउने तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आय आर्जनसँग जोड्ने महत्वपूर्ण प्रयास गरेको नगरपालिकाले जनाएको छ।
सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि नगरपालिकाले क, ख, ग र घ वर्गका ५७ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र तथा ११२ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ। परिचयपत्र प्राप्त भएसँगै सम्बन्धित नागरिकहरूले राज्यबाट उपलब्ध हुने सेवा, सुविधा तथा सामाजिक सुरक्षा कार्यक्रमहरूमा सहज पहुँच प्राप्त गरेका छन्।
यस अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू समेत मनाइएका छन्। यस्ता कार्यक्रमले सामाजिक मुद्दाप्रति नागरिकको चासो बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको नगर प्रमुख केशव श्रेष्ठ बताउनु हुन्छ ।
समग्रमा, बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका सामाजिक विकास सम्बन्धी कार्यक्रमहरू योजनागत उपलब्धिमा मात्र सीमित नभई नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने खालका देखिएका छन्। बाल अधिकार संरक्षण, महिला सशक्तीकरण, सीप विकास, सामाजिक सुरक्षा तथा अपाङ्गता मैत्री कार्यक्रमहरूले समावेशी, आत्मनिर्भर र सभ्य समाज निर्माणको आधार बलियो बनाएको छ। यस्ता कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनले बुद्धभूमिलाई सामाजिक न्याय, समान अवसर र दिगो विकासको नमुना नगरका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया