कपिलवस्तु, वैदौली २४ जेठ
कपिलवस्तुको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्थित यशोधरा गाउँपालिकाले कृषि उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने आधार तयार गरेको पालिकाका कृषि कार्यहरुले पुष्टी गरेको छ। पालिकाको वार्षिक समीक्षा प्रतिवेदन अनुसार गाउँपालिकामा धान, गहुँ र तरकारी उत्पादनमा भएको वृद्धि कृषि क्षेत्रको सकारात्मक संकेतका रूपमा लिनु पर्ने कृषि शाखाले जनाएको छ।
कृषि प्रधान क्षेत्रका रूपमा परिचित यशोधरामा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती गरिएको छ। गत आर्थिक वर्षमा ६ हजार ३२५ हेक्टर क्षेत्रफलमा धान खेती गरी २२ हजार १३७.५ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ। प्रति हेक्टर ३.५ मेट्रिक टन उत्पादकत्व हासिल हुनु किसानको मेहनत, कृषि प्रविधिको प्रयोग तथा अनुकूल मौसमको परिणामका रूपमा लिइएको छ।
त्यस्तै, गाउँपालिकामा गहुँ उत्पादन पनि सन्तोषजनक देखिएको छ। ५ हजार ८४० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट २१ हजार ६०८ मेट्रिक टन उत्पादन भएको छ। प्रतिहेक्टर ३.७ मेट्रिक टन उत्पादकत्व रहेको गहुँ उत्पादनले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको छ।
धान र गहुँजस्ता मुख्य खाद्यान्न बालीसँगै तरकारी उत्पादनमा पनि यशोधराले राम्रो सम्भावना देखाएको छ। १५० हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेतीबाट २ हजार २५० मेट्रिक टन उत्पादन भएको छ। प्रतिहेक्टर १५ मेट्रिक टन उत्पादकत्वले तरकारी खेतीलाई आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गरिरहेको यशोधरा गाउँपालिकाले जनाएको छ ।
कृषि क्षेत्रका जानकारहरूका अनुसार यशोधराको उत्पादन तथ्यांकले परम्परागत खाद्यान्न खेती अझै पनि किसानको मुख्य आधार रहेको देखाउँछ। तरकारी तथा फलफूल खेतीलाई थप व्यवसायिक बनाउन सके कृषकको आम्दानी वृद्धि हुनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ।

यशोधरा गाउँपालिकाको कृषि उत्पादनले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ—उर्वर भूमि, किसानको श्रम र स्थानीय सरकारको सहयोग एकसाथ हुँदा ग्रामीण विकासको बलियो आधार निर्माण गर्न सकिन्छ। सीमावर्ती क्षेत्रका किसानले उत्पादन बढाइरहेको अवस्था खाद्य आत्मनिर्भरताका लागि सकारात्मक संकेत हो।
कृषि उत्पादनका यी उपलब्धिले यशोधरा गाउँपालिका खाद्यान्न उत्पादन गर्ने क्षेत्र मात्र नभई कृषि व्यवसायीकरणको दिशामा अघि बढिरहेको पालिकाका रूपमा स्थापित हुँदै गएको देखिन्छ। अब आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुविधाको विस्तार, कृषि यान्त्रीकरण तथा बजार व्यवस्थापनमा थप ध्यान दिन सकिए यशोधरालाई कृषि समृद्धिको नमुना पालिकाका रूपमा विकास गर्न सकिने सम्भावना बलियो रहेको पालिकाका प्रशासकीय अधिकृत रेशमराज शर्माको भनाई छ ।
उत्पादनशील भूमि, परिश्रमी किसान र योजनाबद्ध कृषि विकास कार्यक्रमको संयोजनले यशोधराले कृषि क्षेत्रमा उत्साहजनक परिणाम हासिल गर्ने यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीको भनाई रहेको छ। यस उपलब्धिलाई दिगो बनाउँदै व्यवसायिक कृषि र मूल्य शृङ्खला विकासमा जोड दिने र गाउँपालिकाको आर्थिक समृद्धिको आधार अझ मजबुत बनाउनेमा आफुहरु लागिपरेको पालिका अध्यक्ष तिवारीको भनाइ रहेको छ।









प्रतिक्रिया