कपिलवस्तु, २५ जेठ
रोजगारी सिर्जना, बेरोजगार युवाको क्षमता विकास, सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन तथा श्रमिकमैत्री सेवाको विस्तारमा बाणगंगा नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यहरुले देखाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा सञ्चालन भएका विभिन्न कार्यक्रमले स्थानीय नागरिकलाई रोजगारसँग जोड्नुका साथै वैदेशिक रोजगारमा रहेका तथा फर्किएका श्रमिकहरूको जीवनमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको देखिन्छ।
नगरपालिकाको तथ्यांकले बेरोजगारको पहिचानदेखि सीप विकास, रोजगार सिर्जना, श्रमिक सुरक्षा र वैदेशिक रोजगारबाट प्रभावित परिवारलाई सहयोगसम्मका बहुआयामिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरिएको पुष्टि गरेको छ।
बेरोजगारको पहिचान र रोजगार व्यवस्थापनमा सक्रियता प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०८०/८१ मा ६८० जना बेरोजगार व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका थिए भने २०८१/८२ मा ५३५ जना सूचीकृत भएका हुन । सूचीकृत संख्या घट्नुले बेरोजगारको संख्या घट्दै गएको वा रोजगार तथा वैदेशिक रोजगारमा आबद्ध हुने क्रम बढेको संकेत गर्दछ।
विशेषगरी पुरुषको वैदेशिक रोजगारतर्फ आकर्षण बढेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा २२३ जनाले पुनः श्रम स्वीकृति लिएकोमा २०८१/८२ मा यो संख्या बढेर ३०९ पुगेको छ। यसले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र कानुनी प्रक्रियामार्फत अघि बढाउन नगरपालिकाले खेलेको सहजीकरणात्मक भूमिकालाई उजागर गर्दछ।

नगर प्रमुख चक्रपाणी अर्याल
वैदेशिक रोजगारबाट प्रभावित परिवारलाई सहारा
वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारलाई राज्यको सेवा–सुविधासम्म पहुँच पु¥याउन पनि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
दुई वर्षको अवधिमा ५४ जना बालबालिकालाई शैक्षिक छात्रवृत्तिका लागि सिफारिस गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा २५ जना र २०८१/८२ मा २९ जना लाभान्वित भएका छन्।
त्यसैगरी वैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गरी ३१ परिवारलाई आर्थिक सहायता प्राप्त गराइएको नगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ। विदेशमा मृत्यु भएका श्रमिकको शव घरसम्म ल्याउन समेत ११ वटा घटनामा नगरपालिकाले समन्वय र सहजीकरण गरेको तथ्यांकले देखाउँछ। यसले संकटको समयमा स्थानीय सरकार नागरिकको भरोसाको केन्द्र बनेको सन्देश दिएको छ।
सीप विकास मार्फत आत्मनिर्भरता
रोजगारीको दिगो आधार निर्माण गर्न सीप विकास अत्यन्त आवश्यक मानिन्छ। यही आवश्यकतालाई आत्मसात गर्दै नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४० जनालाई कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम प्रदान गरेको छ। मेसन (डकर्मी) लगायतका जीवनोपयोगी सीपमूलक तालिमले स्थानीय जनशक्तिलाई दक्ष र प्रतिस्पर्धी बनाउन मद्दत पुगेको छ।
यससँगै रोजगारमा संलग्न हुनुअघि ९० जनालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। श्रमको मूल्य, कार्यसंस्कृति, कार्यस्थल सुरक्षा तथा जिम्मेवारीबारे जानकारी दिइएकाले श्रमिकको कार्यक्षमता र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ।
रोजगार मेला देखि रोजगार संवादसम्म
नगरपालिकाले रोजगारका अवसर र श्रमिकलाई जोड्ने माध्यमका रूपमा रोजगार मेला तथा महोत्सवलाई पनि प्रभावकारी बनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा २०० जना तथा २०८१/८२ मा २८५ जना रिटर्नी तथा बेरोजगार युवाको विवरण संकलन गरिएको छ।
त्यसैगरी रोजगार संवाद मञ्च सञ्चालन गरी ४२ जनालाई सहभागी गराइएको छ भने स्थानीय सरकार, निजी क्षेत्र र अन्य सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम मार्फत दुई वर्षमा १७५ जनालाई सहभागी गराइएको छ। यस्ता कार्यक्रमले स्थानीय रोजगार बजारको आवश्यकता र श्रमिकको अपेक्षाबीच समन्वय कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन्।
श्रमको सम्मान र सुरक्षित कार्यस्थलमा जोड
“श्रमको सम्मान, राष्ट्रको अभियान“ कार्यक्रममार्फत दुई वर्षमा १४२ जनाको सहभागिता सुनिश्चित गरिएको छ। यसले श्रमप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुगेको देखिन्छ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ७१ जना श्रमिकलाई सुरक्षा सामग्री (सेफ्टी सामग्री) वितरण गरिएको छ। कार्यस्थललाई सुरक्षित बनाउने नगरपालिकाको यो पहल श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति जिम्मेवार दृष्टिकोणको उदाहरण बनेको छ।
स्थानीय विकाससँगै रोजगारी सिर्जना
नेपाल सरकार तथा आईडीए सहयोगमा वडा स्तरमा सञ्चालन भएका योजना मार्फत दुई वर्षमा १६१ जना श्रमिक प्रत्यक्ष लाभान्वित भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ९० जना र २०८१/८२ मा ७१ जना श्रमिकले रोजगारी प्राप्त गरेका छन्। यस्ता योजनाले स्थानीय पूर्वाधार निर्माणसँगै आय आर्जनको अवसर सिर्जना गरेको छ।
बाणगंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केवल बेरोजगारको सूची बनाउने कार्यक्रमका रूपमा सीमित नराखी रोजगार सिर्जना, सीप विकास, सुरक्षित वैदेशिक रोजगार, सामाजिक संरक्षण र श्रमिक सशक्तीकरणको एकीकृत अभियानका रूपमा अगाडि बढाएको बाणगंगा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको भनाई रहेको छ ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी
वैदेशिक रोजगारबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनेदेखि स्थानीय स्तरमै रोजगारका अवसर विस्तार गर्ने, युवालाई सीपयुक्त बनाउने र श्रमको सम्मान स्थापित गर्ने कार्यले बाणगंगाको रोजगार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी र नागरिकमुखी बनाएको बताउनु हुन्छ नगर प्रमुख चक्रपाणी अर्याल । अर्यालले स्थानीय सरकारको सक्रियतामार्फत बेरोजगारी न्यूनीकरण र समृद्ध बाणगंगा निर्माण सम्भव रहेको धारणा ब्यक्त गर्नु भयो ।









प्रतिक्रिया