कपिलवस्तु, २५ जेठ।
कपिलवस्तु जिल्लाको पश्चिमी सीमावर्ती क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिका पछिल्लो समय विकास, सुशासन, स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा गरेका कामका कारण उदाहरणीय स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ। भारतसँग सीमा जोडिएको यो गाउँपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न जनमुखी तथा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरूले स्थानीय सरकार नागरिकको जीवनस्तर सुधारमा कति प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ।
दूरदराज र सीमावर्ती क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवाका लागि लामो दूरी धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यसहित गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न गरी नियमित सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालमा दुई जना मेडिकल अधिकृत सहित आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति भएपछि स्थानीय नागरिकले आफ्नै गाउँपालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थालेका छन्। यसले स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै उपचारका लागि हुने अतिरिक्त आर्थिक भार समेत कम गरेको छ।

गाउँपालिका अध्यक्ष गोपाल थापा
स्वास्थ्य सेवासँगै गाउँपालिकाले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको छ। गर्भवती तथा सुत्केरी महिला, अति अशक्त अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले विपन्न तथा कमजोर वर्गका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सम्म सहज पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ।
गाउँपालिकाले सरसफाइ र स्वच्छतालाई विकासको आधार मानेर “स्वच्छ विजयनगरः सभ्य विजयनगर” अभियान सञ्चालन गरेको छ। सातवटै वडामा सञ्चालन गरिएको यो अभियानले सफा वातावरण, स्वस्थ जीवनशैली र सभ्य समाज निर्माणको सन्देश प्रवाह गरेको छ। सरसफाइलाई केवल सरकारी कार्यक्रमका रूपमा नभई जनआन्दोलनका रूपमा अघि बढाउने प्रयासले स्थानीय बासिन्दामा सकारात्मक चेतना विकास गरिरहेको छ।
सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा पनि विजयनगरले उल्लेखनीय प्रगति गरेको छ। गाउँपालिकाबाट हुने सबै प्रकारका भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय प्रणाली (ईएफटी) मार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको छ। यसले आर्थिक कारोबारलाई छिटो, पारदर्शी, भरपर्दो र उत्तरदायी बनाएको छ। डिजिटल माध्यमको प्रयोगले भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सामाजिक रूपान्तरणका क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेको “छोरी बचाऔँ, छोरी पढाऔँ” अभियान विशेष रूपमा उल्लेखनीय छ। छोरीप्रति विद्यमान विभेदकारी सोच परिवर्तन गर्दै शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत हाल सम्म २९४ जना छोरीको नाममा बैंक खातामा जनही १५ हजार रुपैयाँ जम्मा गरिएको छ। चालु आर्थिक वर्षमा मात्र ७४ जना छोरी यस कार्यक्रममा समेटिएका छन्। यो कार्यक्रमले छोरीलाई बोझ होइन, परिवार र समाजको महत्वपूर्ण सम्पत्ति हो भन्ने सन्देश स्थापित गर्न मद्दत पु¥याएको बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी ।
शिक्षा क्षेत्रमा पनि गाउँपालिकाले समावेशी नीति अवलम्बन गरेको छ। कक्षा ११ र १२ मा अध्ययनरत ४७ जना दलित छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। आर्थिक अभावका कारण उच्च शिक्षा छाड्नुपर्ने अवस्था अन्त्य गर्दै शिक्षामा समान अवसर सुनिश्चित गर्ने गाउँपालिकाको प्रयास सामाजिक न्याय र समावेशी विकासको उत्कृष्ट उदाहरण बनेको छ।
पूर्वाधार विकासतर्फ हेर्दा गाउँपालिकाले सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको छ। गाउँपालिका केन्द्रदेखि सबै वडा केन्द्रसम्मको सडक सञ्जाललाई हिलो र धुलोमुक्त बनाउने कार्य सम्पन्न गरिएको छ। यसले वर्षायाममा हुने आवागमनको समस्या न्यूनीकरण हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिलाई सहज बनाएको छ। ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार हुनु भनेको समग्र आर्थिक र सामाजिक विकासको आधार तयार हुनु हो।
विजयनगर गाउँपालिकाले गत आर्थिक वर्षमा हासिल गरेका यी उपलब्धिहरू भौतिक पूर्वाधार निर्माणमा सीमित छैनन्। स्वास्थ्य, शिक्षा, सरसफाइ, लैङ्गिक समानता, सामाजिक सुरक्षा, डिजिटल सुशासन र पूर्वाधार विकासलाई एकसाथ अघि बढाएर गाउँपालिकाले समग्र मानव विकासको मार्ग समातेको देखिन्छ।
सीमावर्ती र अपेक्षाकृत पिछडिएको भूगोलमा रहेर पनि नागरिकमुखी सेवा, समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्न सकिए सकारात्मक परिवर्तन सम्भव छ भन्ने उदाहरण विजयनगर गाउँपालिकाले प्रस्तुत गरेको छ। स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो भन्ने अवधारणालाई व्यवहारमा उतार्दै विजयनगरले विकास र समृद्धितर्फको आफ्नो यात्रालाई थप सशक्त बनाएर आगामी दिनमा अगाडी बढने गाउँपालिका अध्यक्ष गोपाल थापाको भनाई रहेको छ ।









प्रतिक्रिया