बुटवल, २५ जेठ
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा भित्रको संगठनात्मक तथा संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रमुख सचेतक र सचेतकमा नयाँ जिम्मेवारी तोकेको छ। पार्टीले रोल्पाकी यमुना रोकालाई प्रमुख सचेतक तथा कपिलवस्तुका नवराज लामिछानेलाई सचेतक नियुक्त गरेको छ।
मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार दुवै जनालाई जेठ २५ गतेदे खि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरेका हुन्।
यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि यसअघि सचेतक रहेकी रोका प्रमुख सचेतकमा पदोन्नति भएकी हुन्। त्यस्तै रिक्त रहेको सचेतक पदमा कपिलवस्तु प्रदेश निर्वाचन २ (१) का प्रदेश सभा सदस्य नवराज लामिछानेलाई जिम्मेवारी दिइएको हो।
प्रदेश सभामा सत्तारुढ दलको संसदीय गतिविधिलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन प्रमुख सचेतक तथा सचेतकको भूमिका महत्वपूर्ण मानिन्छ। संसदीय कार्यतालिका व्यवस्थापन, सांसदहरू बीच समन्वय, नीति तथा कार्यक्रममाथिको छलफल र दलको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्न यी पदहरूको विशेष जिम्मेवारी रहने गर्दछ।
नयाँ जिम्मेवारीसँगै रोका र लामिछानेले प्रदेश सभामा जनताका मुद्दालाई सशक्त रूपमा उठाउने, संसदीय मर्यादा कायम राख्ने तथा सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन तर्फ सहयोग पु¥याउने अपेक्षा गरिएको छ। विशेषगरी जनप्रतिनिधिहरूको सक्रियता, जवाफदेहिता र जनमुखी भूमिकाले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
राजनीतिक जिम्मेवारी केवल पद प्राप्तिको विषय नभई जनविश्वासको संरक्षण र जनअपेक्षाको सम्बोधन गर्ने अवसर पनि हो। त्यसैले नव नियुक्त प्रमुख सचेतक रोका र सचेतक लामिछानेले प्रदेशको विकास, सुशासन र नागरिक हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यसले प्रदेश सभाको प्रभावकारिता बढाउनुका साथै जनतामा लोकतान्त्रिक संस्थाप्रति थप विश्वास जगाउने विश्वास गरिएको छ।









प्रतिक्रिया