खोज–अनुसन्धान

घरदैलोमै स्वास्थ्य सेवा

निःशुल्क शिक्षा र पर्यटन प्रवद्र्धनमा केन्द्रित कपिलवस्तु नगरपालिका



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु, २६ जेठ

ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न कपिलवस्तु नगरपालिकाले यसै आर्थिक वर्षका लागि नागरिकको आधारभूत आवश्यकता, स्वास्थ्य सुरक्षा, शिक्षा तथा पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर विशेष योजनाहरू कार्यान्वयन गरेको जनाएको छ। नेपालकै पुराना नगरपालिकामध्ये एक मानिने यस नगरपालिकाले विकासलाई पूर्वाधार निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर सुधार र स्थानीय पहिचानको संरक्षणसँग जोड्ने प्रयास गरेको देखिन्छ।
जिल्लाको सदरमुकाम रहेको कपिलवस्तु नगरपालिका गौतम बुद्धसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक भूमि हो। यहाँ रहेको तिलौराकोटलाई सिद्धार्थ गौतमले युवराजका रूपमा करिब २९ वर्ष बिताएको दरबार क्षेत्रका रूपमा चिनिन्छ। साथै नगरभित्र बुद्धकालीन सभ्यता र इतिहास झल्काउने अनेकौं पुरातात्विक स्थलहरू रहेका छन्। यस्ता सम्पदाको संरक्षण र प्रवद्र्धनलाई नगरपालिकाले नीतिगत र कार्यान्वयनमा प्राथमिकतामा राख्नुले विकास र इतिहासबीचको सन्तुलन कायम गर्ने प्रयासलाई संकेत गर्छ।
नगरपालिकाले यस आर्थिक वर्षमा सबै वडाका नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले हेल्थ मोबाइल भ्यान सेवा सञ्चालनको योजना बनाएको जनाएको छ। चिकित्सक तथा आवश्यक उपकरण सहितको यो सेवा ग्रामीण तथा स्वास्थ्य संस्था सम्म सहज पहुँच नभएका नागरिकका लागि अत्यन्त उपयोगी बन्ने अपेक्षा गरिएको छ। यसले समयमै स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचारमा सहजता ल्याउने विश्वास गरिएको छ।

शिक्षा क्षेत्रमा नगरपालिकाले माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सामाजिक न्याय र मानव विकासको दृष्टिले महत्वपूर्ण मानिएको छ। शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत छुट उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। यसबाट न्यून तथा मध्यम आय भएका परिवारलाई स्वास्थ्य उपचार खर्चको भार कम गर्न मद्दत पुग्नेछ। स्वास्थ्य सेवा पहुँच योग्य र सर्वसुलभ बनाउने दिशामा यो कार्यक्रम महत्वपूर्ण सामाजिक सुरक्षाको आधार बनेको छ।

नगर प्रमुख सुदिप पौडेल


तराई क्षेत्रमा सर्पदंशका घटना बारम्बार देखिने भएकाले नगरपालिकाले सर्पदंश अस्पताल गोरुसिङ्गेसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ। निःशुल्क उपचारको व्यवस्था कायम राख्ने यो कदमले जोखिममा रहेका नागरिकलाई राहत पु¥याउनेछ। त्यसैगरी, निःशुल्क रगत व्यवस्थापनका लागि रुपन्देही ब्लड बैंकलाई प्रदान गर्दै आएको अनुदानलाई निरन्तरता दिइने भएकाले आकस्मिक उपचार तथा ज्यान बचाउने सेवामा सहयोग पुग्ने देखिन्छ।
पर्यटन प्रवद्र्धनतर्फ पनि नगरपालिकाले विशेष ध्यान दिएको छ। रामघाट क्षेत्रमा गत आर्थिक वर्षमा शिलान्यास गरिएको शिवधाम निर्माण कार्यलाई निरन्तरता दिएको छ। धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ। साथै, सिद्धार्थ गौतम बुद्धको विवाह महोत्सव कपिलवस्तु नगरपालिका र देवदह नगरपालिकाको सहकार्यमा आयोजना गरिने योजना सांस्कृतिक पर्यटन प्रवद्र्धनको दृष्टिले महत्वपूर्ण मानिएको छ। यसले बुद्धकालीन इतिहासलाई विश्वसामु थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ।
समग्रमा हेर्दा कपिलवस्तु नगरपालिकाले यसै आर्थिक वर्षका लागि तय गरेका योजनाहरू स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र पर्यटनलाई एकसाथ जोड्ने प्रकृतिका छन्। ऐतिहासिक गौरव बोकेको नगरलाई आधुनिक सेवा र सुविधासँग जोड्दै नागरिक केन्द्रित विकासको नमुना प्रस्तुत गर्ने प्रयासका रूपमा यी कार्यक्रमहरूलाई लिन सकिन्छ। नगर प्रमुख सुदिप पौडेलले योजनाहरूको प्रभावकारी कार्यान्वयन संगै कपिलवस्तु नगरपालिका प्रशासनिक केन्द्र मात्र नभई स्वास्थ्य, शिक्षा र सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा थप स्थापित हुने विश्वास लिएको बताउनु भयो ।

प्रकाशित : २६ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६