ब्रेकिंग न्युज

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच



भोजपुर, २८ जेठः

भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । “लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ ।” पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उहाँको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताउनुभयो । बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखीको पानीको समस्या हटेको स्थानीयवासी छत्रमाया कार्कीले बताउनुभयो । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उहाँको भनाइ छ ।“घरमा धारा जडान भएपछि सहजता छ”, उहाँले भन्नुभयो, “एक गाग्री पानीको जोह गर्न दुईचार घण्टा लाग्थ्यो । अहिले आगनको डिलमा धारा छ । पानीको कुनै चिन्ता छैन ।” बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयवासी तिलबहादुर श्रेष्ठले बताउनुभयो । पानी आएपछि गाईभैँसी खुवाउनदेखि दैनिक सरसफाइमा सहजता भएको उहाँले बताउनुभयो । यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिब एक हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । आयोजनालाई चाँडो सम्पन्न गराउन नगरले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उहाँको भनाइ । “यो षडानन्द नगरपालिकामा सञ्चालनमा रहेको ठूलो योजना हो”, उहाँले भन्नुभयो, “यो आयोजनाबाट धेरै घर परिवारमा शुद्ध पिउने पानी पुग्दैछ । समयमा सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।” यो आयोजना निर्माणको काम दुई ‘स्किम’मा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिनुभयो । श्रमदानसहित यो आयोजनाको अनुमानित कूल लागत रु २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ । “लोमा खोला खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ”, उहाँलेले भन्नुभयो, “कामलाई तीव्र रुपमा अघि बढाएका छौँ । अब करिव २८५ घरधुरीमा पानी वितरण र शुद्धस्करण संयन्त्र बनाउन बाँकी रहेको अवस्था छ ।” चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डिपिटी र तीन वटा वितरण च्याम्बर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुई हजार १०० मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब १५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आव २०७५÷७६ बाट थालनी भएको हो ।

प्रकाशित : २८ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६