खोज–अनुसन्धान

सहकारी अस्पतालको सफलताले दियो सन्देश

अब जटिल शल्यक्रियाका लागि राजधानी धाउनुपर्ने बाध्यता घट्दै



कपिलवस्तु १ असार

स्वास्थ्य सेवामा सहकारी क्षेत्रले पनि उत्कृष्ट नतिजा दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युनाइटेड अस्पतालले जटिल हाडजोर्नी शल्यक्रियामा महत्वपूर्ण सफलता हासिल गरेको छ। अस्पतालले ३८ वर्षीय दिलिप कुमार चाईको कम्मर, कुल्हा (हिप) तथा पेल्भिक हड्डीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपछि स्थानीय स्वास्थ्य सेवा प्रतिको विश्वास अझ बलियो बनेको छ।
दायाँ कुल्हा र कम्मरको तल्लो भाग जोडिने जोर्नीमा गम्भीर चोट लागेका बिरामीको करिब ६ घण्टा लामो शल्यक्रिया वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. समिर खानको नेतृत्वमा सम्पन्न गरिएको थियो। शल्यक्रियामा काठमाडौंका विशेषज्ञ चिकित्सक, एनेसथेसियोलोजिस्ट तथा अस्पतालका प्राविधिक सहित १० सदस्यीय टोलीको सहभागिता रहेको थियो। हाल बिरामीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।


यो सफलता एउटा बिरामीको उपचारमा सीमित छैन। यसले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सञ्चालित सहकारी अस्पतालहरू पनि विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्षम छन् भन्ने सन्देश दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुन्दर आचार्यको भनाइ छ। विगतमा यस्ता जटिल शल्यक्रियाका लागि बिरामीहरू काठमाडौं, भैरहवा वा अन्य ठूला शहरका अस्पताल पुग्न बाध्य हुन्थे। यसका कारण समय, खर्च र मानसिक तनाव समेत बढ्ने गरेको थियो।
अस्पतालले स्थानीय स्तरमै यस्तो सेवा उपलब्ध गराउन सफल भएपछि प्रदेश तथा आसपासका जिल्लाका नागरिकले आफ्नै क्षेत्रमै गुणस्तरीय उपचार पाउने आशा बढेको छ। स्वास्थ्य सेवा पहुँचको दृष्टिले पनि यो उपलब्धि महत्वपूर्ण मानिएको छ।

सहकारी मोडलको सफलता

विशेषज्ञहरूका अनुसार स्वास्थ्य क्षेत्रमा सहकारी मोडल प्रभावकारी हुन सक्ने सम्भावना यस घटनाले पुष्टि गरेको छ। सहकारी संस्थाको उद्देश्य नाफा कमाउनु मात्र नभई समुदायलाई सेवा दिनु भएकाले यस्ता अस्पतालहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने गरेका छन्।


युनाइटेड अस्पतालको यो उपलब्धिले सहकारी अस्पतालहरूमा पनि दक्ष जनशक्ति, आधुनिक प्रविधि र व्यवस्थापन क्षमता विकास गर्न सकिए उत्कृष्ट सेवा दिन सम्भव रहेको देखाएको छ। यसले अन्य सहकारी संस्थाहरूलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी र सेवा विस्तार गर्न प्रेरणा दिन सक्छ।
आत्मनिर्भर स्वास्थ्य सेवातर्फको कदम

अस्पतालले आगामी दिनमा घुँडा प्रत्यारोपण, हिप प्रत्यारोपण, लिगामेन्ट चोटपटकको आथ्र्रोस्कोपिक शल्यक्रिया, जोर्नीसम्बन्धी आधुनिक उपचार तथा दुर्बिन प्रविधिबाट गरिने विभिन्न शल्यक्रिया सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
यसले स्थानीय स्तरमै विशेषज्ञ सेवा विस्तार हुने संकेत गरेको छ। स्वास्थ्य सेवामा बढ्दो आत्मनिर्भरता, विशेषज्ञ उपचारको सहज पहुँच र नागरिकको विश्वास अभिवृद्धि भएको छ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार युनाइटेड अस्पतालको यो उपलब्धि एउटा शल्यक्रियाको सफलता होइन, “गुणस्तरीय स्वास्थ्य सेवा राजधानीमै मात्र सम्भव छ” भन्ने पुरानो सोचलाई चुनौती दिने सकारात्मक उदाहरण पनि हो। सहकारी अस्पतालहरूले समुदायको भरोसा जित्दै गएमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा नयाँ परिवर्तन सम्भव हुने विश्वास गरिएको अस्पतालका अध्यक्ष सरोज खनालको भनाई छ ।

प्रकाशित : १ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६