रसुवा, ३ असार
नुवाकोट र रसुवाको सिमाना बेत्रावतीस्थित उत्तरगया धामको सरसफाइले यसक्षेत्रको मुहारमा परिवर्तन देखिएको छ । बढ्दै गएको फोहरलाई व्यवस्थापन गर्दै वातावरणको स्वच्छता कायम गरी धार्मिक एवं पर्यटन क्षेत्रका रूपमा विकास गर्ने अभिप्रायले उत्तरगया धामको सरसफाई गरिएको हो । वन कार्यालय रसुवा वन उपभोक्ता महासङ्घको संयुक्त आयोजनामा सम्पन्न सरसफाइ अभियानबाट पाँच टनभन्दा बढी फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पवित्र तीर्थस्थल उत्तरगया धाम केबल धार्मिक आस्थाको केन्द्र मात्र नभई, नेपालको इतिहास, संस्कृति, सभ्यता र वातावरणीय चेतनाको महत्वपूर्ण सङ्गमस्थल भएको वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले बताउनुभयो । रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली नदी र फलाखु खोलाको सङ्गममा अवस्थित यस धाममा हालै गरिएको सरसफाइ अभियानले यसको धार्मिक तथा प्राकृतिक महत्वलाई थप उजागर गरेको छ । स्थानीय पुरोहित वसन्तकुमार लामिछानेले धाम क्षेत्रको संरक्षण र स्वच्छता कायम राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । हिन्दू धर्मशास्त्रअनुसार उत्तरगया धामलाई पुण्यभूमिका रूपमा लिने गरिएको छ । सामान्यतया दक्षिणतर्फ बग्ने नदी कुनै स्थानमा उत्तरतर्फ फर्किएर बगेमा त्यसलाई ‘उत्तरवाहिनी’ भनिन्छ । उत्तरवाहिनी नदीमा स्नान, तर्पण, श्राद्ध तथा पिण्डदान गरेमा विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । गोसाइँकुण्डबाट प्रवाह हुने त्रिशूलीपूर्वबाट झरेर धुञ्चे पुछार उत्तर दिशामा प्रवेश गरी भोटेकोसीमा मिसिएर प्रवाह भइरहेको छ । बेत्रावतीस्थित उत्तरगया धाममा त्रिशूली नदी र फलाखु खोलाको सङ्गम रहेको छ । स्कन्दपुराणमा नदीको सङ्गमलाई देवभूमिका रूपमा वर्णन गरिएको पाइन्छ । यहाँ गरिने पितृकार्य, तर्पण र दाहसंस्कारले दिवङ्गत आत्मालाई मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । यही विश्वासका कारण रसुवा र नुवाकोटका दर्जनौँ गाउँका बासिन्दाले आफ्ना दिवङ्गत आफन्तको अन्त्येष्टि यही स्थलमा गर्ने परम्परा कायम राखेका छन् । बेत्रावती धाममा तीन वटा प्रमुख मरणघाट सञ्चालनमा रहेका छन्, जहाँ वर्षौंदेखि अन्तिम संस्कार गरिँदै आएको छ । धाममा प्रत्येक वर्ष कुशेऔँसीका दिन हजारौँ श्रद्धालु पितृको सम्झनामा पिण्डदान गर्न यहाँ पुग्ने गर्छन् । ठूलो एकादशीमा विष्णु भगवानको पूजा, फूलको डोरी नदीमा अर्पण गर्ने परम्परा, धार्मिक प्रवचन, सप्ताह ज्ञान महायज्ञ तथा अन्य आध्यात्मिक गतिविधि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । स्थानीय बुद्धिजीवी गणेश श्रेष्ठले धामले धार्मिक संस्कारलाई पुस्तान्तरण गर्दै समाजमा आध्यात्मिक चेतना फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुहुन्छ । धार्मिक दृष्टिले मात्र होइन, ऐतिहासिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । नेपाल–तिब्बतबीचको युद्ध अन्त्य गर्न पुर्खाले यही क्षेत्रमा सन्धि तथा सम्झौता गरेको इतिहास छ । जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले सडक सञ्जालको सहज पहुँचका कारण प्रमुख पर्वबाहेक भक्तजन तथा पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । उहाँले धामको बृहत्तर विकासका लागि विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । —
Powered By Orson Infotech









प्रतिक्रिया