कपिलवस्तु, ३ असार
कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकास निर्माणका कामलाई तीव्रता दिँदै समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ। शिक्षा, पूर्वाधार, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्दै आएको गाउँपालिकाले स्थानीय नागरिकमा विकासप्रति नयाँ आशा जगाएको छ।
यसै क्रममा वडा नं. १ स्थित आधारभूत विद्यालय थरौलीमा करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने सुविधासम्पन्न चार कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ। पूर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय रुपा बिकको पहलमा प्राप्त बजेटबाट निर्माण हुन लागेको उक्त भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगरलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने अभियान निरन्तर रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शैक्षिक पूर्वाधार निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष थापाका अनुसार विद्यालय भवन निर्माणसँगै विद्यार्थीले सुरक्षित, व्यवस्थित र आधुनिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। यसले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण समेत बढाउने विश्वास गरिएको छ।
स्थानीयवासीले लामो समयदेखि विद्यालयमा पर्याप्त भौतिक पूर्वाधारको आवश्यकता महसुस गर्दै आएका थिए। नयाँ भवन निर्माणपछि कक्षाकोठा अभावको समस्या समाधान हुने र शैक्षिक गतिविधि थप सहज बन्ने अपेक्षा गरिएको छ।
विकास निर्माणका विभिन्न योजनालाई प्राथमिकता दिँदै आएको विजयनगर गाउँपालिकाले सडक, खानेपानी, कृषि तथा शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। पछिल्लो समय सञ्चालन भएका यस्ता योजनाले गाउँपालिकाको समग्र विकासमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयहरूको भनाइ छ ।

शिक्षा क्षेत्रमा गरिएको यो लगानीले भवन निर्माण मात्र नभई भावी पुस्ताको भविष्य निर्माण गर्ने आधार तयार गर्ने विश्वास गरिएको छ। यसले समृद्ध विजयनगर निर्माणको अभियानलाई थप मजबुत बनाउने विश्वास लिएको पालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाई रहेको छ ।
/









प्रतिक्रिया