अर्थ-वाणिज्य

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले



काठमाडौँ, ४ असार

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताउनुभएको छ । अर्थमन्त्री डा वाग्लेले प्रतिनिधिसभामा उठेका प्रश्नहरुको आज जवाफ दिँदै राज्य सञ्चालनका लागि सार्वजनिक ऋण परिचालनको विकल्प नभएको स्पष्ट पार्नुभयो । “आगामी आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४७ अर्ब र आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब परिचालन गरिने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “सोही अवधिमा आन्तरिक ऋणको सावाँ र व्याज भुक्तानीका लागि रु दुई ४६ अर्ब खर्च हुने र खुद रु एक खर्ब ६४ अर्ब मात्र आन्तरिक परिचालन गरिनेछ ।” अर्थमन्त्री डा वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको बताउनुभयो । “अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि भएको छैन”, उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ ।” अर्थमन्त्री डा वाग्लेले आगामी आवको बजेटमा दलित वालबालिकाको पोषण भत्ता दोब्बर गरिएको जानकारी दिनुभयो । उहाँले विनियोजन ऐन, २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा संशोधन गरी पुँजीगततर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्पष्ट पार्नुभयो । सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुखलगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पुँजीगत खर्चमा वृद्धि हुने अर्थमन्त्री डा वाग्लेको भनाइ थियो । उहाँले पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने बताउनुभयो । –––

प्रकाशित : ४ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६