कपिलवस्तु, ६ असार
स्थानीय सरकारको सफलता योजना निर्माणमा मात्र होइन, नागरिकका दैनिक समस्या समाधान गर्ने क्षमतामा पनि मापन गरिन्छ। यही सन्दर्भमा कपिलवस्तु नगरपालिकाले गत आर्थिक वर्षको वार्षिक समीक्षा गर्दै नगर विकासका प्रमुख चुनौतीहरू पहिचान गरेको छ। फोहरमैला व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, शहरी यातायात व्यवस्थापन, व्यवस्थित ढल निकास तथा पुरातात्विक क्षेत्रको विकास जस्ता विषय नगरपालिकाका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्।
तीव्र शहरीकरणसँगै फोहरमैला व्यवस्थापन स्थानीय तहका लागि जटिल बन्दै गएको छ। कपिलवस्तु नगरपालिकाले पनि फोहर व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा स्वीकार गरेको छ। हालसम्म स्थायी ल्याण्डफिल साइटको अभावले दीर्घकालीन समाधानमा कठिनाइ उत्पन्न भएको छ। नगरपालिकाले यस समस्याको समाधानका लागि छिमेकी स्थानीय तहहरूसँग समन्वय गरी साझा ल्याण्डफिल साइट निर्माणको आवश्यकता औंल्याएको छ। विज्ञहरूका अनुसार फोहरलाई स्रोतका रूपमा प्रयोग गर्दै पुनःप्रयोग, प्रशोधन तथा जैविक मल उत्पादनमा जोड दिन सके वातावरण संरक्षणसँगै आर्थिक लाभसमेत हासिल गर्न सकिन्छ।
त्यसैगरी, छाडा चौपायाको समस्या नगर क्षेत्रको अर्को गम्भीर चुनौती बनेको छ। सडक दुर्घटना बढ्नुका साथै कृषि उत्पादनमा समेत नोक्सानी पुग्ने गरेको छ। यो समस्या कुनै एक स्थानीय तहले मात्र समाधान गर्न नसक्ने भएकाले अन्तरपालिका समन्वय, व्यवस्थित गौशाला निर्माण तथा पशुपालकलाई जिम्मेवार बनाउने नीति आवश्यक देखिएको छ। सामूहिक प्रयासबाट मात्र यस समस्याको दीर्घकालीन समाधान सम्भव हुने जानकारहरू बताउँछन्।

बढ्दो सवारी चापसँगै शहरी यातायात व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ। बजार क्षेत्रमा जथाभावी पार्किङ, साँघुरा सडक र ट्राफिक व्यवस्थापनको अभावले नागरिकले दैनिक सास्ती खेपिरहेका छन्। यसका लागि व्यवस्थित पार्किङ स्थल, ट्राफिक सचेतना अभियान तथा दीर्घकालीन शहरी यातायात गुरुयोजना आवश्यक रहेको देखिन्छ। सुगम र सुरक्षित यातायात प्रणालीले नगरको आर्थिक गतिविधिलाई समेत थप गतिशील बनाउने विश्वास गरिएको छ।
ढल निकास व्यवस्थापन अर्को महत्वपूर्ण चुनौती हो। वर्षायाममा पानी जम्ने, सडक क्षति हुने तथा सरसफाइमा समस्या देखिने अवस्था अझै कायम छ। योजनाबद्ध शहरी विकाससँगै आधुनिक ढल प्रणाली निर्माण, वर्षे पानी व्यवस्थापन तथा पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ। व्यवस्थित ढल निकासले नगरको सौन्दर्य मात्र होइन, जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नेछ।
विश्व सम्पदाको सम्भावना बोकेको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र रहेको कपिलवस्तुमा पुरातात्विक क्षेत्रको विकास पनि प्राथमिक चुनौतीका रूपमा रहेको छ। प्राचीन सभ्यता, संस्कृति र बुद्धकालीन इतिहाससँग जोडिएका सम्पदाहरूको संरक्षण, प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकास गर्न सके नगरको आर्थिक समृद्धिमा नयाँ आयाम थपिन सक्छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको नगर प्रमुख सुदिप पौडेलको भनाइ रहेको छ ।
कपिलवस्तु नगरपालिकाले पहिचान गरेका यी चुनौतीहरू समस्या मात्र नभई ्, विकासका अवसर पनि हुन्। उचित योजना, अन्तरपालिका समन्वय, नागरिक सहभागिता र दीर्घकालीन सोचका साथ अघि बढ्न सके फोहर व्यवस्थापनदेखि सम्पदा संरक्षणसम्मका विषय नगरको समृद्धिको आधार बन्न सक्ने जानकार बताउन्छन्। चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता नै अब कपिलवस्तु नगरपालिकाको सफलताको वास्तविक मापदण्ड हुने नागरिक अगुवाहरुको भनाई रहेको ।









प्रतिक्रिया