ब्रेकिंग न्युज

विजयनगरको विकास यात्रामा चुनौतीको समिक्षा

स्वास्थ्य, शिक्षा र राजस्व व्यवस्थापन मुख्य समस्या



कपिलवस्तु, ९ असार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक समीक्षा गर्दै विकास तथा सेवा प्रवाहका क्रममा देखिएका प्रमुख चुनौती र समस्याहरू सार्वजनिक गरेको छ। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, राजस्व संकलन, सामाजिक व्यवस्थापन तथा नागरिक सहभागिता जस्ता क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
वार्षिक समीक्षा प्रतिवेदन अनुसार गाउँपालिकाको सबैभन्दा महत्वपूर्ण चुनौती १५ शैयाको आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनु रहेको छ। गाउँपालिकाभित्रै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्दै मातृ तथा शिशु मृत्युदर घटाउने, पोषणको अवस्था सुधार गर्ने र स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्ने लक्ष्य अझै चुनौतीपूर्ण रहेको जनाइएको छ।
विजयनगर बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समुदायको बसोबास रहेको स्थानीय तह भएकाले सामाजिक सद्भाव, सहअस्तित्व र विविधताको व्यवस्थापन अर्को संवेदनशील विषय बनेको छ। विभिन्न समुदायबीचको एकता कायम राख्दै समावेशी विकासलाई अघि बढाउनु स्थानीय सरकारका लागि निरन्तर चुनौतीको विषय रहेको समीक्षा प्रतिवेदनले देखाएको छ।

गाउँपालिका अध्यक्ष गोपाल थापा

गाउँपालिकाले सीमित स्रोत–साधनका बीच बढ्दो जनअपेक्षा सम्बोधन गर्नुपर्ने दबाब पनि महसुस गरेको छ। नागरिकको विकास र सेवा प्रवाह सम्बन्धी अपेक्षा तीव्र रूपमा बढ्दै गएको अवस्थामा उपलब्ध स्रोतबाट सबै आवश्यकता पूरा गर्न कठिन भइरहेको उल्लेख गरिएको छ। समृद्ध गाउँपालिका निर्माणको लक्ष्य प्राप्त गर्न वित्तीय स्रोतको दिगोपन र प्रभावकारी परिचालन आवश्यक देखिएको छ।

सुशासन र संस्थागत विकासतर्फ स्थानीय शासनलाई थप सक्षम, प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक कानुन निर्माण तथा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन अर्को महत्वपूर्ण चुनौतीका रूपमा औंल्याइएको छ। स्थानीय सरकार सञ्चालनका लागि आवश्यक नीति, ऐन र कार्यविधिहरू समयमै निर्माण तथा कार्यान्वयन नहुँदा सेवा प्रवाहमा प्रभाव पर्ने अवस्था देखिएको गाउँपालिकाको निष्कर्ष रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको भनाई छ।
राजस्व व्यवस्थापनको क्षेत्रमा पनि गाउँपालिकाले उल्लेखनीय चुनौती सामना गरिरहेको छ। आन्तरिक आयका स्रोतहरूको पहिचान गरी करको दायरामा ल्याउने, राजस्व संकलन बढाउने तथा कम्तीमा प्रशासनिक खर्च धान्न सक्ने गरी आन्तरिक स्रोतको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। स्थानीय तहको आर्थिक आत्मनिर्भरता अझै कमजोर रहेको संकेत समीक्षाले गरेको छ।
समीक्षामा विकास निर्माण र सेवा प्रवाहका कामहरू नियमानुसार सम्पन्न भए पनि अनावश्यक मुद्दा–मामिला र विवादले प्रशासनिक कार्यसम्पादनमा असर पु¥याउने गरेको उल्लेख छ। यसले समय, स्रोत र जनशक्ति व्यवस्थापनमा अतिरिक्त दबाब सिर्जना गर्ने गरेको गाउँपालिकाको भनाइ छ।
त्यस्तै, सूचनाको हकको प्रयोगका नाममा अत्यधिक र अनावश्यक विवरण माग गर्ने प्रवृत्तिले पनि प्रशासनिक जटिलता बढाएको गाउँपालिकाको गुनासो छ। वर्षौंअघिदेखिका सम्पूर्ण आर्थिक विवरण, योजनागत खर्च, बिल–भरपाई लगायतका विस्तृत अभिलेख बारम्बार माग गर्दा नियमित सेवा प्रवाहमा समेत प्रभाव पर्ने गरेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
नागरिकको शैक्षिक स्तर र चेतनाको अवस्था अपेक्षाकृत न्यून रहँदा विकास निर्माणका कार्यमा रचनात्मक सहभागिता र सकारात्मक सहयोग प्राप्त गर्न कठिनाइ हुने गरेको गाउँपालिकाको निष्कर्ष रहेको र स्थानीय विकासका कार्यक्रमहरू सफल बनाउन नागरिक सचेतना, सहभागिता र उत्तरदायित्वको भावना वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको गाउँपालिका अध्यक्ष गोपाल थापाको भनाई छ।
भारतसँग जोडिएको खुला सीमाना रहेको कारण सुरक्षा संवेदनशीलता पनि गाउँपालिकाको अर्को चुनौती बनेको छ। सीमावर्ती क्षेत्रका कारण हुने सम्भावित सुरक्षा जोखिम तथा व्यवस्थापनका विषयमा स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।
शिक्षा क्षेत्रतर्फ विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय, व्यवहारिक र समयसापेक्ष शिक्षामा पहुँच सुनिश्चित गर्नु चुनौतीपूर्ण रहेको उल्लेख छ। सामुदायिक तथा धार्मिक विद्यालयहरूमा पर्याप्त भौतिक पूर्वाधार, प्रविधि, शिक्षक–कर्मचारी व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गरी दक्ष, नैतिकवान र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाको ठहर छ।
समग्रमा, विजयनगर गाउँपालिकाको समीक्षा प्रतिवेदनले विकासका आधारभूत सूचकहरूमा सुधार भएको तर स्वास्थ्य, शिक्षा, राजस्व, सामाजिक व्यवस्थापन र नागरिक सहभागिताजस्ता क्षेत्रमा अझै उल्लेखनीय सुधार आवश्यक रहेको स्पष्ट पारेको छ। सीमित स्रोत र बढ्दो जनअपेक्षाबीच सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै दिगो विकासको लक्ष्य हासिल गर्नु आगामी वर्षहरूमा गाउँपालिकाको प्रमुख परीक्षा रहने देखिन्छ।

प्रकाशित : ९ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६