खोज–अनुसन्धान

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा जोडयशोधराले ल्यायो ५० करोड ८३ लाखको जनमुखी बजेट



अजय बर्मा


कपिलवस्तु, ११ असार

कपिलवस्तुको यशोधरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ८३ लाख २६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभाले ‘शिक्षा, स्वास्थ्य, कृषि र गुणस्तरीय भौतिक पूर्वाधारः समृद्ध यशोधराको आधार’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट स्वीकृत गरेको हो।
गाउँसभामा वडा नं. १ का अध्यक्ष अब्दुल कयुम खानले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए। प्रस्तुत बजेटले विशेष गरी विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा दलित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले गर्भवती महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य संस्था सम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता बढाउन प्रिमियम शुल्कको ५० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने नीति लिइएको छ।


ग्रामीण भेगका गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा उपलब्ध गराइने भएको छ भने मोतियाविन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रियासहित आँखा शिविर सञ्चालन गरिनेछ। निर्माणाधीन १५ शय्याको अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य पनि बजेटले अघि सारेको छ। यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण गर्ने ‘अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने भएको छ।

शिक्षा क्षेत्रमा आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विपन्न, जेहेन्दार, अपाङ्गता भएका तथा विशेष गरी दलित समुदायका विद्यार्थीलाई एसईईपछि विज्ञान तथा प्राविधिक धार अध्ययनका लागि पाँच हजार रुपैयाँसम्म छात्रवृत्ति सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ।
बजेटका स्रोतहरूमध्ये संघीय सरकारको सशर्त अनुदानबाट २० करोड ८० लाख रुपैयाँ तथा संघीय राजस्व बाँडफाँडबाट ११ करोड १ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
सामाजिक रूपान्तरणका क्षेत्रमा महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता प्रवद्र्धन, जातीय विभेद अन्त्य तथा बालमैत्री समाज निर्माणका कार्यक्रम सञ्चालन गरिनेछन्। त्यस्तै गुणस्तरीय सडक सञ्जाल विस्तार, दिगो सिँचाइ व्यवस्थापन मार्फत कृषि उत्पादन वृद्धि, किसानको आयस्तर उकास्ने तथा वातावरण संरक्षणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।
सार्वजनिक खाली जग्गामा वृक्षारोपण, फोहरमैला व्यवस्थापन तथा पोखरीहरूको संरक्षण गरी पार्क र खुला मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ। यसले गाउँपालिकालाई हरित, स्वच्छ र आकर्षक बस्तीका रूपमा विकास गर्ने लक्ष्यलाई प्रतिबिम्बित गरेको छ।
गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष गुञ्जा देवी मोर्या, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यशोधरा गाउँपालिकाको आगामी बजेटले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै समावेशी विकासको मार्गचित्र प्रस्तुत गरेको देखिन्छ। विशेष गरी सेवाबाट पछाडि परेका समुदायलाई लक्षित कार्यक्रमले स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्ने प्रयास गरिरहेको स्पष्ट सन्देश दिएको छ।

प्रकाशित : ११ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६