खोज–अनुसन्धान

विजयनगरको ६८ करोड बजेट

समृद्ध विजयनगर निर्माणको लक्ष्य सहित उत्पादन वृद्धि, र पूर्वाधार विकासलाई प्राथमिकता



घनश्याम भर

कपिलवस्तु, ११ असार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै ६८ करोड ११ लाख ७८ हजार ६ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ। दोस्रो गाउँ सभाको नवौँ अधिवेशन (वर्षे अधिवेशन) मार्फत प्रस्तुत नीति, कार्यक्रम तथा बजेटले सीमित स्रोत–साधन बीच उत्पादन, सेवा प्रवाह र मानव विकासलाई सन्तुलित रूपमा अघि बढाउने संकेत गरेको छ।


प्रस्तावित बजेट मध्ये ४९ करोड ९९ लाख ३७ हजार रुपैयाँ (७३.४० प्रतिशत) चालु खर्चतर्फ र १८ करोड १२ लाख ४१ हजार ६ सय रुपैयाँ (२६.६० प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। चालु खर्चको हिस्सा तुलनात्मक रूपमा बढी भए पनि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका आधारभूत सूचक सुधार गर्ने लक्ष्य लिएको देखिन्छ।


गाउँपालिकाको नीति तथा कार्यक्रमले कृषि क्षेत्रको विविधीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रमुख रणनीतिका रूपमा अघि सारेको छ। स्थानीय उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार तथा सरकारी, निजी र गैरसरकारी क्षेत्रबीचको सहकार्य मार्फत उत्पादकत्व र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। कृषि प्रधान क्षेत्रका रूपमा रहेको विजयनगरका लागि यो नीति ग्रामीण अर्थतन्त्र सुदृढीकरण तर्फको महत्त्वपूर्ण कदम मान्न सकिन्छ।


शिक्षा क्षेत्रमा गुणस्तरीय, सर्वसुलभ तथा आधुनिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ भने स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ। यससँगै सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, गरिबी न्यूनीकरण, रोजगार सिर्जना र सुशासन प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।
पूर्वाधार विकासतर्फ सडक सञ्जाल विस्तार, प्रविधिको विकास तथा सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने योजना समेटिएको छ। साथै विभिन्न धर्म, संस्कृति र सम्प्रदायका मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले सीमित स्रोतको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई विकासको प्रमुख आधार बनाएर समृद्ध विजयनगर निर्माणको अभियानलाई तीव्रता दिइने उनको भनाइ थियो।
उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बजेट समावेशी, जनमुखी र परिणाममुखी रहेको उल्लेख गर्दै महिला, बालबालिका, किसान तथा विपन्न समुदायको हितलाई विशेष प्राथमिकता दिइएको बताइन्। प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी कार्यान्वयन मार्फत स्वीकृत कार्यक्रम समयमै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।


गाउँसभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको छ। सभाले वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै बजेट माथि थप छलफलका लागि आगामी असार १६ गते बैठक बस्ने निर्णय गरेको छ। उक्त बैठकबाट बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिइने जनाइएको छ।


विजयनगर गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन, मानव विकास र आधारभूत सेवाको विस्तारलाई केन्द्रमा राखेकाले यसको प्रभावकारी कार्यान्वयन हुन सके स्थानीय आर्थिक गतिविधि, रोजगारी र नागरिकको जीवन स्तर सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : ११ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६