गण्डकी

विविधिकृत खेतीतर्फ किसानको आकर्षण



नवलपुर (नवलपरासी), १४ असार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका किसानहरू विविधिकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले मुख्यबालीका रूपमा अदुवा, बेसार लगाएका छन् भने सहायक बालीका रूपमा चिप्लीभिन्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका किसान टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसारखेती गर्नुभएको छ । “मैले बेसारखेतीसँगै बारीमा भिन्डी र मकैखेतीसमेत गरेको छु”, उहाँले भन्नुभयो, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उहाँले तरकारीका रूपमा भिन्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताउनुभयो । “हामीले पहिलेपहिले एक ठाउँमा एउटामात्रै खेती गर्ने गरेका थियौँ, जसबाट धेरै आम्दानी गर्न सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त बाली विविधिकृत खेतीका कारण एकसाथ धेरै प्रकारका खेती गरेर आम्दानी गर्न सफल भएका छौँ ।” डाढबेँसी पहाडी क्षेत्र भएकाले यहाँ अदुवा र बेसार राम्रो उत्पादन हुने उल्लेख गर्दै बेसार मानाको रु १०० मा बिक्री हुने गरेको बताउनुभयो । त्यस्तै, अदुवा पनि सिजनमा रु ६० मा बिक्री हुने गरेको भन्दै उहाँले वैशाखदेखि असोजसम्म अदुवाको राम्रो मूल्य पर्ने बताउनुभयो । यहाँका किसानले व्यक्तिगत रूपमा विविधिकृत खेतीसँगै सामूहिक रूपमा समेत खेती गर्दै आएका छन् । मङ्गलादेवी कृषक समूहकी सदस्य लक्ष्मी श्रेष्ठले सामूहिक रूपमा १० रोपनी क्षेत्रफलमा अदुवा र बेसार लगाएको बताउनुभयो । “हामी १५ जना मिलेर पाखो बारीमा सामूहिक खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले मुख्य बालीका रूपमा अदुवा र बेसार लगाएका छौँ भने सहायक बालीका रूपमा मकै र भिन्डी लगाएका छौँ ।” समूहमा मिलेर काम गर्दा काम गर्न सहज र छिटो भएको उल्लेख गर्दै उहाँले सामूहिकताको भावनासमेत वृद्धि भएको बताउनुभयो । “सामूहिक खेतीबाट उत्पादनमात्रै बढेको छैन, हामीमा नेतृत्व सीपसमेत बढेको छ”, उहाँले भन्नुभयो, “समूहमा मिलेर काम गर्न पनि सिकेका छौँ ।” किसानले लगाएको सामूहिक र विविधिकृत खेती गर्दा स्थानीय प्रजातिका बालीहरू लगाउँदै आएको उहाँले बताउनुभयो । डाढबेँसीका किसानहरू अहिले अदुवाको बूढी (रोपेको अदुवा उम्रिएपछि जमिनमुनिबाट निकालिने पुरानो अदुवा÷बीउ अदुवा) निकाल्न व्यस्त छन् । अकलादेवी कृषक समूहकी उपाध्यक्ष मैना विकले अदुवाको बूढी निकालेर बिक्री गर्दा यसबाट मनग्य आम्दानी हुने गरेको बताउनुभयो । “पहिला हामीले अदुवा लगाएर यत्तिकै छाड्ने गरेका थियौँ, बूढी माटोमा कुहिएर सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हामीले बाली विविधिकृतबारे तालिम लिएपछि बूढी अदुवा निकालेर बिक्री गर्दै आम्दानी गर्न थालेका छौँ ।” उहाँको समूहले पनि पाँच रोपनी क्षेत्रफलमा अदुवा र बेसारखेती गरेको छ । “अहिले अदुवा र बेसार गोडमेलको बेला भएको छ”, उहाँले भन्नुभयो, “गोडमेलसँगै अदुवाको बूढी पनि निकालेर भण्डारण गर्दैछौँ ।” बाली विविधिकृत खेती सुरु गरेपछि यहाँका किसानहरूको जीवनस्तरमा सुधार आएको विकले बताउनुभयो । “पहिला खेती गर्दा हामीलाई घरमै खान मुस्किल हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले त अदुवा र बेसार बारीमा मकै र भिन्डीबाट अतिरिक्त आम्दानी पनि गर्न सफल भएका छौँ ।” बुलिङटार गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी विकले विविधिकृत खेतीका लागि पालिका र कारितास नेपालले सहयोग गरेको बताउनुभयो । “हामीले स्थानीय तर उन्नत जातका बीउहरू पाएका छौँ”, उहाँले भन्नुभयो, “योसँगै कृषि प्राविधिकहरू बारीमै आएर खेती हेर्ने तथा हामीलाई प्राविधिक विषयमा सहजीकरण गर्दै आउनुभएको छ ।” यहाँका किसाले अहिले अदुवा र बेसारसँगै जीविकोपार्जनका लागि मुसुरो, केराउ, गहत, बोडी, सिमी, काउली, भिन्डी, करेला, काँक्रा, फर्सीलगायतका खाद्यान्न लगाउन थालेका विकको भनाइ छ । –––

Powered By  Orson Infotech

प्रकाशित : १४ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६