कपिलवस्तु, १५ असार
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रलाई स्थानीय आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा वित्तीय पहुँच विस्तारको प्रमुख आधारका रूपमा व्याख्या गर्दै सहकारी र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारीहरूले नगर क्षेत्रमा चार अर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाएको उल्लेख गर्दै यसले स्थानीय विकासमा उल्लेखनीय योगदान पु¥याएको बताए। उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, उद्यमशीलता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका अझ सशक्त हुनुपर्ने उनको धारणा थियो।

नगर प्रमुख अर्यालले सहकारीहरूलाई बचत तथा ऋण कारोबार गर्ने संस्थाका रूपमा मात्र नभई स्थानीय उत्पादन, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण र रोजगारी सिर्जनाको प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नगरपालिकाले सहकारी क्षेत्रलाई विकास साझेदारका रूपमा उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरको आर्थिक समृद्धि सहकारी क्षेत्रसँगको प्रभावकारी साझेदारीबाट मात्रै सम्भव हुने बताए। बाणगंगा नगरपालिकाले सहकारीमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले सहकारी मार्फत सफल अभ्यासहरू विस्तार भइरहेका र आगामी दिनमा पनि नगरपालिकाले सहकारीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

समीक्षा कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईले प्रस्तुत गरेको समिक्षात्मक प्रतिवेदन अनुसार बाणगंगा नगरपालिकाभित्र हाल ६५ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये कृषि, बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्ध तथा उपभोक्ता सहकारीहरूले आ–आफ्नो क्षेत्रमा सेवा प्रदान गर्दै स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याइरहेका छन्। प्रतिवेदनले सहकारीहरूको वित्तीय अवस्था, सेवा विस्तार तथा भावी सुधारका पक्षहरू पनि समेटेको थियो।

नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सहकारी अभियानले आर्थिक समावेशीकरण, सामाजिक उत्तरदायित्व र समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सहकारीहरूलाई अझ पारदर्शी, उत्तरदायी र व्यवसायिक बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा भलवाड साना किसान सहकारी संस्था लिमिटेडका व्यवस्थापक मानकुमारी गिरी तथा विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक मिना आलेले आफ्ना संस्थाका अनुभव, उपलब्धि र चुनौतीहरू प्रस्तुत गरेका थिए। उनीहरूले उत्पादन मुखी लगानी, सदस्यको आयआर्जन वृद्धि तथा महिला उद्यमशीलता विकासमा सहकारीहरूले खेलेको भूमिकाबारे अनुभव साझा गरे।
सहकारी शाखा प्रमुख सञ्जु आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बाणगंगा नगरपालिकाको समीक्षा कार्यक्रमले सहकारी क्षेत्र वित्तीय कारोबारमा सीमित नभई स्थानीय विकासको महत्वपूर्ण साझेदारका रूपमा स्थापित हुँदै गएको सन्देश दिएको छ। चार अर्बभन्दा बढी पूँजी परिचालन हुनु स्थानीय तहका लागि ठूलो आर्थिक उपलब्धि हो। यस पूँजीलाई कृषि, साना उद्योग, उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा अझ प्रभावकारी रूपमा परिचालन गर्न सके स्थानीय रोजगारी वृद्धि, आयआर्जन विस्तार र आर्थिक आत्मनिर्भरतामा उल्लेखनीय योगदान पुग्ने समिक्षा गरिएको थियो ।
समीक्षा कार्यक्रमले सहकारी संस्थाहरूबीच अनुभव आदानप्रदान, कमजोरीको पहिचान र सुधारका अवसरहरूको खोजी गर्ने वातावरण समेत सिर्जना गरेको छ। आगामी दिनमा सुशासन, पारदर्शिता, प्रविधिमैत्री सेवा र उत्पादनमुखी लगानीमा जोड दिन सके बाणगंगाका सहकारीहरू स्थानीय समृद्धिका अझ बलिया आधार बन्न सक्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया