कृषि

वाणगंगामा धान दिवस मनाइयो

‘मल, प्रविधि र सम्मान पाए किसान, आत्मनिर्भर बन्छ’



कपिलवस्तु , बाणगंगा , १५ असार

नेपाली किसानका लागि धान रोप्ने दिन होइन, श्रम, आशा, उत्पादन र आत्मनिर्भरताको संकल्प दोहोर्याउने दिन पनि हो। यही सन्देशलाई व्यवहारमा उतार्दै कपिलवस्तुको वाणगंगा नगरपालिकाले वडा नं. ११ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस विशेष रूपमा मनाएको छ।
धान रोपाइँको औपचारिकता भन्दा पनि किसानप्रतिको सम्मान, कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रतिबद्धतालाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र किसान एउटै खेतमा उत्रिए। लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले खेतमै धान रोपेर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले नेपाल कृषि प्रधान मुलुक भए पनि किसान अझै पनि मल, बीउ, सिँचाइ र आधुनिक कृषि प्रविधिको अभावसँग संघर्ष गरिरहेको यथार्थ औँल्याए। सरकार परिवर्तन भइरहे पनि किसानका आधारभूत आवश्यकता समयमै पूरा हुन नसक्नु चिन्ताको विषय भएको उनको भनाइ थियो।
उनले कृषि क्षेत्रमा स्थायी परिवर्तन ल्याउन किसानलाई आवश्यक पर्ने सम्पूर्ण कृषि सामग्री सहज र समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिए। किसान उत्पादनमा केन्द्रित हुन सक्ने वातावरण निर्माण भए मात्र कृषि आत्मनिर्भर र समृद्ध बन्ने तथा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणबाट राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सकिने उनको धारणा थियो।
नगर प्रमुख चक्रपाणी अर्यालले असार १५ नेपाली कृषकको श्रम र आशाको पर्व भएको उल्लेख गर्दै कृषि उत्पादन बढाउन स्थानीय सरकारले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। “असारमा मानो रोपेर मंसिरमा मुरी फलाउने” उखानले नेपाली किसानको परिश्रम र कृषि संस्कृतिको महत्व झल्काउने उल्लेख गर्दै उनले खेतीयोग्य जमिन बाँझो नराख्न सबै किसानलाई आग्रह गरे।

उनका अनुसार आधुनिक कृषि प्रविधिको विस्तार, सिँचाइ सुविधाको विकास र कृषि व्यवसायीकरण मार्फत वाणगंगालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहित नगरपालिका अघि बढिरहेको छ।
नगर उपप्रमुख रीता कुमारी चौधरीले तराई क्षेत्र देशको अन्न भण्डार भएकाले खेतीयोग्य जमिन बाँझो राख्नु भविष्यप्रतिको बेवास्ता हुने बताइन्। उनले प्रत्येक इन्च जमिनलाई उत्पादनसँग जोड्नुपर्ने, युवालाई कृषि पेशाप्रति आकर्षित गर्नुपर्ने तथा किसानको सम्मानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागी किसान, जनप्रतिनिधि तथा कर्मचारीले सामूहिक रूपमा धान रोप्दै असार १५ को सांस्कृतिक परम्परालाई पनि जीवन्त बनाए। दही–चिउरा खाने परम्परासँगै श्रम, सहकार्य र उत्पादनप्रतिको सम्मान व्यक्त गरिएको कार्यक्रममा कृषिलाई समृद्ध नेपालको आधारका रूपमा स्थापित गर्नुपर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
लक्ष्मी कृषक समूह, वाणगंगा–११ की अध्यक्ष सोमरानी थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, प्रशासन प्रमुख केशव भट्टराई, कृषि विकास शाखा प्रमुख लेसबहादुर केसी, राजस्व शाखा प्रमुख मदन घिमिरे जनप्रतिनिधि, कर्मचारी, कृषक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित : १५ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६