ब्रेकिंग न्युज

बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन



राँझा (बाँके), २० असार

बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुर्याई अयोग्य व्यक्तिबाट बिरामी जाँच र औषधि सिफारिश हुने गरेको छ । नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमन क्रममा जानकी गाउँपालिकामा डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ । औषधि बिक्री मात्र नभई, बिरामीको उपचारसमेत गर्दै आएका जानकी गाउँपालिका–१ जोगाउगाउँका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको थियो । औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार, भुजुवासँँग स्वास्थ्यसम्बन्धी कुनै पनि मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब १५ वर्षदेखि लुकिछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको छ । भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको पाइएको छ । घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेका तीन कार्टुन बरामद गरिएको छ । ती औषधि बिक्रीका लागि राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बरामद गरिएका औषधिको गुणस्तर, म्याद र कानुनी स्रोतबारे पनि थप अनुसन्धान भइरहेको औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिनुभयो । औषधि व्यवस्था विभागले पछिल्लो समय यस्ता अवैध औषधि पसल र चिकित्सकमाथि निगरानी बढाएको औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक साहले बताउनुभयो । बाँकेको नरैनापुर गाउँपालिकामा केहीवर्ष अघिमात्रै नक्कली चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएको थियो । घटनापछि केही महिना स्वास्थ्य संवेदनशिलताको वारेमा चर्चा भएपनि अहिले फेरि गाउँमा भेटिने नक्कली चिकित्सकबाट स्वास्थ्य परीक्षण र औषधि वितरण हुने गरेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले सरकारी नियामक निकायको अनुपस्थिति र जनतामा स्वास्थ्य सचेतनाको अभावले गाउँका अवैध औषधि पसल र नक्कली चिकित्सकबाट स्वास्थ्य जाँच हुने गरेको बताउनुभयो । उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले छिटफुट कारबाही मात्र पर्याप्त नहुने भन्दै नियमित अनुगमन, जनचेतना, कानुनी कारबाही र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगसँगै अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित : २० असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६