ब्रेकिंग न्युज

‘नवल खड्का’ पुस्तक बजारमा



खोटाङ, २१ असार

खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो । नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर संवाददाता मनोज बडूले यही असार १९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रूपमा विमोचन गर्नुभएको हो । तिङ्कर भञ्ज्याङको १ नम्बर सीमास्तम्भमा आयोजित कार्यक्रममा नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गर्नुभएको छ । नायक खड्काले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ । पर्यटकीय क्षेत्र तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको ढोका खुल्ने नायक खड्काले बताउनुभएको छ । तिङ्कर भञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिएको खण्डमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले ठूलो परिमाणमा धन आम्दानी गर्न सक्ने जानकारी दिनुभयो । पुस्तक विमोचन गर्दै नायक खड्काले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताउनुभयो । खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आउनुभएका नायक, निर्देशक तथा लेखक खड्का खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षसमेत हुनुहुन्छ । करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसक्नुभएका नायक तथा निर्देशक खड्काले आफ्नै लगानीमा नेपाली कथानक चलचित्र ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसक्नुभएको छ ।

प्रकाशित : २१ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६