ब्रेकिंग न्युज

सार्वजनिक सुनुवाइ मार्फत जनउत्तरदायित्वलाई थप सुदृढ बनाउँदै बाणगङ्गा नगरपालिका



कपिलवस्तु, असार २२

बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम चौमासिक अवधिमा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउँदै सुझाव, गुनासा र जिज्ञासा संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा वडा नं. ८ स्थित मालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।


सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले नगरपालिकाको सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, वातावरण संरक्षणलगायत विभिन्न विषयमा आफ्ना जिज्ञासा, सुझाव, आलोचना तथा सकारात्मक प्रतिक्रियाहरू राखेका थिए। सहभागीहरूले उठाएका विषयमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, उपप्रमुख रीता कुमारी चौधरी तथा अन्त्यमा नगरप्र मुखले क्रमशः स्पष्ट, तथ्यपरक र जवाफदेही ढंगले उत्तर दिँदै नगरपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमको सहजीकरण गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्नुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने, स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि गर्ने तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने प्रभावकारी माध्यमका रूपमा सार्वजनिक सुनुवाइको महत्व रहेको बताउनुभयो।

कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अवधिमा सम्पन्न भएका योजना, बजेट कार्यान्वयन, सेवा प्रवाह, सामाजिक विकास तथा पूर्वाधार निर्माणका उपलब्धिहरू प्रस्तुत गरेको थियो। यससँगै नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समावेश गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ विश्वासिलो, उत्तरदायी र सहभागितामूलक बनाउने दृष्टिले सार्वजनिक सुनुवाइ प्रभावकारी अभ्यासका रूपमा स्थापित हुँदै गएको सहभागीहरूले बताएका थिए। यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै नागरिकलाई आफ्ना सरोकार प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक सहयोग प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाप्रति बाणगङ्गा नगरपालिकाले आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव प्रदान गर्ने सम्पूर्ण नगरवासी, विशेषगरी वडा नं. ८ का स्थानीयबासीप्रति नगरपालिकाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नागरिक सहभागितालाई अझ सुदृढ बनाउँदै सुशासन, पारदर्शिता र उत्तरदायी स्थानीय शासनको अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : २२ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६