पार्वती पाण्डे
कपिलवस्तु २७ असार/कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ठुलो मात्रामा बजेट विनियोजन गरेको छ। नगर उप–प्रमुख शिव कुमारी चौधरीद्वारा १९ औं नगरसभामा प्रस्तुत गरिएको आ.व. २०८३/ ०८४ को अनुमानित आय–व्यय विवरण (बजेट तथा कार्यक्रम) मा शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि मात्रै करोडौं रुपैयाँ छुट्याएर नगरले मानव विकासमा आफ्नो बलियो प्रतिबद्धता जनाएको छ। नगरपालिकाले यस वर्षको कुल १ अर्ब ४६ करोड १२ लाख ३६ हजार ७ सय रुपैयाँको कुल बजेटमध्ये शिक्षा क्षेत्रको विकास र पहुँच विस्तारका लागि ठोस कार्यक्रमहरू अघि सारेको छ। शिवराज नगरपालिकाले आ.व. २०८३/०८४ मा शिक्षा क्षेत्रलाई विभिन्न शीर्षक र साझेदारी मार्फत ठुलो रकम विनियोजन गरेको छ । जसअनुरुप शिक्षा , युवा तथा खेलकुद शाखालाई एक मुष्ट ९ करोड रकम विनियोजित गरिएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा उक्त बजेट खर्च हुने छ । विद्यालय पूर्वाधार विकास (संघीय सरकारसँगको साझेदारी मा ५६ लाख रकम बिनियोजन गरिएको छ ।जिल्ला समन्वय समिति र पालिका साझेदारी (भवन निर्माण) का लागि १ करोड १० लाख वजेट रहेको छ । नगरले मेयर/ उपमेयर उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि १० लाख , पढ्दै कमाउँदै सीप विकास कार्यक्रममा ५ लाख बजेट रहेको छ ।
त्यस्तै ज्ञानोदय र दुर्गेश नन्दनी विद्यालयको अधुरो भवन निर्माणमा २० लाख बजेट छुट्याईएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि धेरै स्थानीय तहमा यो पूर्ण रूपमा लागू हुन सकेको छैन। तर, शिवराज नगरपालिकाले पालिका स्तरबाटै ९ करोड रुपैयाँ “अनिवार्य तथा निःशुल्क शिक्षा“ का लागि विनियोजन गरेर शिक्षामा समान सहभागिता र समतामूलक पहुँच स्थापित गर्ने दृढ संकल्प लिएको देखिन्छ। यसले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयको पहुँचमा ल्याउन कोशेढुङ्गाको काम गर्नेछ।
भौतिक पूर्वाधार जतिसुकै राम्रो भए पनि कक्षाकोठामा शिक्षक उत्प्रेरित नभए शिक्षाको गुणस्तर सुध्रन सक्दैन। यस तथ्यलाई आत्मसात गर्दै नगरपालिकाले नगर स्वयंसेवक शिक्षकहरूको मासिक तलबमानमा मावि, निमावि र प्रावि तहका लागि २,००० रुपैयाँ र बालविकास शिक्षकका लागि १,५०० रुपैयाँ वृद्धि गरेको छ। यसले शिक्षकहरूको कार्यक्षमता र कक्षाकोठाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गर्न सकिन्छ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको “पढ्दै कमाउँदै“ मागमा आधारित सीप विकास कार्यक्रम (५ लाख) ले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सिकाउनेछ। त्यस्तै, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई अगाडि बढाउन मेयर/उपमेयर उच्च शिक्षा छात्रवृत्ति (१० लाख) ले नगरभित्र प्राविधिक र उच्च जनशक्ति उत्पादनमा टेवा पुरÞ्याउने देखिन्छ।विद्यालयहरूमा भवनको अभाव र पुराना अधुरा योजनाहरू सम्पन्न गर्न यस बजेटले न्याय गरेको छ। सिद्धार्थ र रंगिलाल माविका लागि समन्वय समितिसँगको साझेदारीमा १ करोड १० लाख तथा ज्ञानोदय र दुर्गेश नन्दनी विद्यालयका अधुरा भवनका लागि २० लाख रुपैयाँ विनियोजन हुनुले विद्यालयको भौतिक वातावरण सुरक्षित र सुविधायुक्त बनाउन मद्दत पुग्नेछ।
विगतका वर्षहरूमा भौतिक पूर्वाधार (सडक, पुल) लाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै शिवराज नगरपालिकाले यस पटक “मानव विकास र शिक्षा“ लाई बजेटको केन्द्रविन्दुमा राखेको छ। स्रोत र साधनको सीमितताका बाबजुद पनि अनिवार्य शिक्षा, छात्रवृत्ति, शिक्षकको सुविधा वृद्धि र विद्यालय भवन निर्माण जस्ता बहुआयामिक क्षेत्रलाई समेटेर वजेट ल्याइएको नगरका मेयर अजय थापाले बताए । अबको मुख्य चुनौती भनेको यस बजेटको समयमै र पारदर्शी ढंगले अक्षरसः कार्यान्वयन गर्नु नै हो , मेयर थापाले भने ।










प्रतिक्रिया