कपिलवस्तु, साउन १०
कपिलवस्तुका सञ्चारकर्मीहरूले स्वास्थ्य, खाद्य सुरक्षा तथा पोषणका विषयलाई प्रमाणमा आधारित खोजमूलक पत्रकारिता मार्फत प्राथमिकताका साथ उठाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। लुम्बिनीमा आयोजित “खाद्य तथा पोषण सम्बन्धी तथ्यमा आधारित पैरवी प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका“ विषयक दुईदिने कार्यशालाको समापनमा सञ्चारकर्मीहरूले पाँचबुँदे प्रतिज्ञापत्रमा हस्ताक्षर गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनु भयो ।

कार्यशालाले स्वास्थ्य र पोषणका समाचारलाई सूचना प्रवाहमा सीमित नराखी तथ्य, अनुसन्धान र प्रमाणका आधारमा जनसरोकारको मुद्दाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता माथि जोड दिएको सहभागीहरूले बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र अपुष्ट सूचनाको प्रभाव बढिरहेका बेला प्रमाणमा आधारित पत्रकारिताले जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष कार्यशालाले निकालेको प्रशिक्षक गुणानिधी भुसालले बताउनु भयो ।

प्रतिज्ञापत्र अनुसार सञ्चारकर्मीहरूले स्वास्थ्य सुरक्षा तथा पोषण सम्बन्धी खोजमूलक समाचारलाई आफ्ना सञ्चार माध्यममा प्राथमिकता दिने, स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत संघसंस्थासँग सहकार्यलाई निरन्तरता दिने तथा स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रमाणमा आधारित समाचार मार्फत जिम्मेवार बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै, खाद्य अधिकार, पोषण तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने उद्देश्यले निरन्तर मिडिया पैरवी गर्ने विषय पनि प्रतिज्ञापत्रमा समेटिएको प्रमुख प्रशिक्षक पदमराज जोशीले बताउनु भयो ।

स्वास्थ्य तथा पोषणका विषयलाई विकास पत्रकारिताको महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्न सञ्चारकर्मीहरूको यस्तो सामूहिक प्रतिबद्धता जिल्लाका लागि सकारात्मक सुरुआत भएको सरोकारवालाहरूको भनाइ छ। कुपोषण न्यूनीकरण, सुरक्षित खाद्य प्रणालीको विकास तथा नागरिकको स्वास्थ्य सचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। नेपालमा स्वास्थ्य र पोषणसम्बन्धी तथ्यमा आधारित सञ्चार तथा जनचेतना कार्यक्रमलाई पछिल्ला वर्षहरूमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले प्राथमिकताका साथ अघि बढाइरहेका छन्।
कार्यशालामा सहभागी पत्रकारहरूले आगामी दिनमा सनसनीपूर्ण वा अपुष्ट सूचना भन्दा प्रमाण, तथ्य र अनुसन्धानमा आधारित समाचार उत्पादन गरी जनस्वास्थ्यसँग सम्बन्धित विषयमा नागरिकको सही सूचनाको अधिकार सुनिश्चित गर्न सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूको यो पहलले कपिलवस्तुमा उत्तरदायी पत्रकारिता, सुशासन तथा स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया